
केही दिनअघि भारत चीन सीमामा रहेको नाकु लामा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप भएको खबर आएको थियो ।
भारतीय सेनाले यसको पुष्टि गरेको थियो तर झडप सामान्य भएको बताएको थियो ।
चीनले चाहिँ झडप हुँदै नभएको बताएको थियो ।
तर नाकु ला र सिक्किम भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ भन्ने कुरा यस घटनाले पनि उजागर गरेको छ । सन् २०१७ मा सिक्किम नजिकै रहेको दोक्लममा सडक बनाउने विषयमा भारत र चीनबीच महिनौंसम्म गतिरोध भएको थियो ।
नाकु ला पाँच हजार मिटरभन्दा पनि अग्लो स्थानमा छ । उत्तर सिक्किममा रहेको यो ठाउँ सन् १९६२ मा भएको युद्धमा पनि केन्द्रमा रहेको थियो ।
त्यसको पाँच वर्षपछि सिक्किम सीमामा लडाइँ हुँदा दुवै पक्षका सयौं सैनिकहरूको ज्यान गएको थियो ।
सिक्किमलाई भारतले सन् १९७५ मा आफूमा मिसाएको थियो ।
सिक्किम सीमापारि चीनले सडकहरूको जाल फैलाएको छ । यसबाट भारतका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण चिकेन्स नेक समेत पूर्वोत्तर भारत जोखिममा परेको छ ।
नाकु ला मात्र त्यस्तो स्थान हो जहाँ भारतलाई चीनमाथि अग्रता हासिल भएको भारतीय सैन्य विशेषज्ञहरूको कथन छ । हिमालय फ्रन्टियरमा यही क्षेत्रमा भारतीय फौजहरूलाई रणनीतिक फाइदा छ । यहाँ भारतीय सेना उचाइमा रहेको छ ।
नाकु ला एक पास हो र यो १९ हजार फीटमा रहेको छ । नाकु लालाई संवेदनशील क्षेत्रका रूपमा लिइन्छ ।
रक्षा विशेषज्ञ कर्नेल दानवीर सिंह (सेवानिवृत्त) ले पांगोङ तालमा फिंगर भएजस्तै नाकु लाबाट तिब्बततर्फ फिंगरहरू रहेका छन् ।
उनी भन्छन्, ‘यस क्षेत्रमा भारतीय सेना उचाइमा छ र भारतलाई चीनको तुलनामा रणनीतिक अग्रता छ । तिब्बततर्फ जाने क्षेत्रमा विवाद छ तर सीमांकन स्पष्ट छ । चीनले हाम्रो इलाकामा दाबी गरेको छ । उसको मूल उद्देश्य भारतमाथि दबाब दिनु हो ।’
कर्नेल सिंहका अनुसार, यो इलाका समतल छ र यहाँ भारतले ट्यांक समेत अन्य हतियार र बन्दोबस्ती तैनाथ गरेको छ । भारतको बलियो स्थितिले चीनलाई रिस उठेको छ ।
संघर्ष भइहालेमा भारत यस क्षेत्रमा चीनमाथि हावी हुने उनी बताउँछन् ।