लुम्बिनीका ‘कुलमान’ : जसको मेहनतले चम्किँदैछ बौद्ध विश्वविद्यालय

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

२०७१ सालतिर लुम्बिनीको पर्सा चोक नजिकै एउटा सेतो भवन देखिन्थ्यो । यो भवन कसको हो ? धेरैलाई थाहा थिएन ।


Advertisement

त्रिभुवन विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका बुटवलका तिलक आचार्य २०७१ सालमा सोही सेतो भवनमा पुगे आंशिक शिक्षकका रूपमा । भवन थियो लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस ।


Advertisement

हुन त यो विश्वविद्यालय २०६१ सालमा स्थापना भएको हो । जतिबेला आचार्यले त्रिविमा त्रिपिटकका श्लोक पढ्दै थिए । तर बौद्ध विश्वविद्यालय पनि छ भन्ने कुरा २०७४ सालसम्म पनि धेरैलाई थाहै थिएन । पदाधिकारीहरू काठमाडौंमै सीमित थिए । क्याम्पसमा पठनपाठन शुरू भएकै थिएन । झण्डै दशकसम्म एकाध पीएचडीका शोधार्थीमै विश्वविद्यालय खुम्चियो ।

आंशिक शिक्षकका रूपमा ६ वर्षअघि बौद्ध विश्वविद्यालय प्रवेश गरेका आचार्यलाई लुम्बिनीमा पठनपाठन गराउने जिम्मेवारी थियो । काठमाडौं भएका पदाधिकारी पर्यटकजस्तै बनेर केन्द्रीय कार्यालय आउँथे । न विद्यार्थी, न पूर्वाधार, न त पर्याप्त पढाउने जनशक्ति । तैपनि आचार्यले पठनपाठन गराउने जिम्मा लिए । त्यतिबेलाका क्याम्पस प्रमुख इन्द्र काफ्ले र आचार्य विद्यार्थी खोज्न भौतारिए ।


Advertisement

‘बौद्ध दर्शन पढ्नुपर्‍यो भन्दै विद्यार्थी खोज्न हिँड्यौं तर जहाँ जाँदा पनि बुद्धिज्म पनि पढ्छन् भनेर प्रश्न मात्रै सोधियो,’ उनले त्यतिबेलाको तीतो अनुभव सुनाए । सजिलै विद्यार्थी ल्याएर पठनपाठन शुरू गर्न कठिन देखेपछि उनले नयाँ उपाय खोजे – आफ्ना आफन्त, साथीभाइबाट स्नातक उत्तीर्णका प्रमाणपत्र लिएर भर्ना थाले । विद्यार्थी ४० जना पुगे, कक्षा शुरू भयो ।  पहिलो पटक कक्षामा पस्दा आचार्यले लामो सास फेरेको सम्झिए ।

आचार्यलाई कक्षा चलाइरहन कम्ती चुनौती भएन । पूर्वपश्चिम, उत्तरदक्षिणका विद्यार्थी लुम्बिनीमा पुर्‍याउनुपर्ने । आफ्नै गाडीमा बुटवल र भैरहवाबाट पढाउने शिक्षक र विद्यार्थी दैनिक बोक्न थाले उनी । आंशिक पढाउने शिक्षकको पारिश्रमिक १ पिरियडको ६०० रुपैयाँ थियो तर विश्वविद्यालयको पठनपाठनका लागि आफ्नै गाडीमा विद्यार्थी ओसार्न त्यतिभन्दा धेरै रकम इन्धनमै जान्थ्यो ।

२०७२ सालमा पहिलो ब्याचका विद्यार्थी पढ्दापढ्दै उनी सहायक क्याम्पस प्रमुख बने । विद्यार्थी पढाउने जिम्मेवारीसँगै उनी विश्वविद्यालयका लागि चाहिने जग्गा व्यवस्थापनको काममा जुटे । यस क्षेत्रको भूगोल र राजनीतिक क्षेत्रका व्यक्तिहरू बुझेका उनी सरकारका मन्त्री, नेता, प्रशासकको दैैलोमा फाइल बोकेर कैयौं पटक काठमाडौं पुगे । गाडीबाट हिँड्दा ढिलो हुने भन्दै आफ्नै खर्चमा प्लेनबाट ओहोरदोहोर गरे । 

‘जग्गा प्राप्तिका लागि जाँदा–आउँदा प्लेन भाडा मात्रै ५० हजार रुपैयाँभन्दा धेरै गएछ, विश्वविद्यालयमा माग गरेको पाइँदैन भनेर फाइल फिर्ता भयो,’ उनी अहिले हाँस्दै भन्छन् ।

बौद्ध धर्म दर्शनसँगको लगावले नै उनी विश्वविद्यालयप्रति समर्पित भए । २ दशकभन्दा लामो अवधि पत्रकारितामा रमाएका उनी समाचार लेख्ने अप्ठ्यारो सुल्झाउनकै लागि बौद्ध दर्शनको अध्ययनमा लागेका थिए ।

२०६० सालतिर बुद्ध भारतमा जन्मेको कि नेपालमा भन्ने बहसले मुलुक तातेको थियो । त्यही समाचार लेख्नका लागि उनीसँग पर्याप्त ज्ञान थिएन । १ जना सामान्य मान्छेले बुद्धको फेहरिस्त फरर बताइदिएपछि उनी दंग परे । जो पढे–लेखेका मानिस थिएनन् । त्यही प्रभावले उनी त्रिवि हानिए ।

२०६२ सालमा त्रिविबाट बुद्धिज्ममा एमए गरे । २०७५ सालमा पीएचडी नै गरे । बुद्धिज्ममा एमए गरेको १० वर्षपछि उनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको सहायक प्रमुख हँुदै रजिस्ट्रार बने । रजिस्ट्रार नियुक्त भएपछि उनी सिधै लुम्बिनीस्थित केन्द्रीय कार्यालयमा पुगेर पहिलो हाजिरी गरे । उनी नै लुम्बिनीस्थित केन्द्रीय कार्यालयमा पुग्ने पहिलो पदाधिकारी हुन् ।

कार्यकारी पदमा पुगेपछि आचार्यले रफ्तार लिए । विश्वविद्यालयको विकासको गति रकेट शैलीमा थियो । १ दशक गुमनाम भएको विश्वविद्यालयलाई सबैले देख्ने र चिन्ने स्थानमा पुर्‍याए । ‘धेरैले बौद्ध दर्शन र विश्वविद्यालयको महत्त्व बुझ्न सकेनन्,’ उनी भन्छन्, ‘पदाधिकारीमा समेत जागिर खाने ध्येय मात्रै देखियो तर त्यसरी विश्वविद्यालयको विकास हुँदैन्थ्यो ।’ 

आचार्यले नै विश्वविद्यालय उकास्ने अग्रसरता लिए । पूर्वाधार नभई विश्वविद्यालय चलाउन कठिन थियो । शुरूमा पूर्वाधार निर्माणमा ध्यान दिए उनले । लुम्बिनीको पर्सा चोकमा आधुनिक केन्द्रीय कार्यालय खडा गरे । लुम्बिनी विकास कोष परिसरमा पदाधिकारी आवास भवन र छात्राबास बन्यो । खडैयामा छात्राबास र प्राध्यापक निवास कक्ष तयार भए । उनी त्यतिमै रोकिएनन् । पहिलो ४ वर्षे कार्यकालमा विश्वविद्यालय भित्रको पूर्वाधारमा आमूल परिवर्तन गरे । बुद्धको अस्तुधातु सहितको स्तुपा निर्माण गरे । आधुनिक पुस्तकालय निर्माण भइरहेको छ ।

कसैले नदेखेको केन्द्रीय कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरू पुर्‍याए । विश्वविद्यालमा श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजापाक्षेलाई समेत भ्रमण गराए । यी सबैको उद्देश्य विश्वविद्यालयलाई स्वदेशमा मात्रै नभई विश्वभर चिनाउनु थियो । ‘यो यही मात्रै खुम्चिने विश्वविद्यालय होइन, विश्व समुदायले नै चिन्ने र पढ्ने थलो हो,’ उनी निर्धक्क भन्छन्, ‘अबको केही समयमै यो सम्भव हुन्छ ।’

करोडौं बजेट खर्च गरेर शैक्षिक र पूर्वाधार विकासमा लागेका आचार्य आर्थिक अनुशासनको पुरस्कार खाने सम्भवतः मुलुकका विश्वविद्यालयमा पहिलो पदाधिकारी होलान् । उनलाई उत्कृष्ट आर्थिक सुव्यवस्था गरेको भन्दै मुख्यसचिवले २ पटक पुरस्कृत गरेका छन् । बेरुजु अनुगमन समितिका अध्यक्षको हैसियतले मुख्यसचिवले लगातार २ वर्ष पुरस्कृत गरे । अन्य विश्वविद्यालयमा करोडौंको बेरुजु हुँदा लुम्बिनीमा १ प्रतिशतभन्दा कम मात्रै बेरुजु छ । उनी बेरुजु शून्यमा झार्ने कसरतमा छन् । 

विश्वविद्यालय चलाउनका लागि पूर्वाधार मात्रै भएर हुँदैनथ्यो । पढाउने विषय र पढ्ने विद्यार्थी अनिवार्य शर्त थियो । बौद्ध दर्शनको कोर विषयमा मात्रै सीमित रहेको विश्वविद्यालयलाई बहुविषयमा लैजान आचार्यले नै पहल थाले । किनभने नयाँ विषय पढाएर विद्यार्थीलाई विश्वविद्यालयमा आकर्षित गर्ने र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थियो । संघीय संसदले ऐन संशोधन गर्दै विश्वविद्यालयलाई पूर्ण सरकारी स्वामित्व र बहुविषयमा लग्यो ।

जबरजस्ती भर्ना गरेका पाका विद्यार्थीबाट शुरू भएको विश्वविद्यालयमा अहिले करीब ३ हजार विद्यार्थी छन् । विदेशी विद्यार्थी समेत पढ्दैछन् । लुम्बिनी, कपिलवस्तु, देवदह, बुटवलमा आंगिक र इकाई क्याम्पसहरू चलिरहेका छन् । काठमाडांैमा ७ वटा सम्बन्धन प्राप्त कलेजले पढाइरहेका छन् ।

ट्राभल एण्ड टुरिज्म, बीएएलएलबी जस्ता नयाँ विषयमा विद्यार्थीको भर्ना थेगिनसक्नुभएको छ । चालू शैक्षिक सत्रबाट डेभलपमेन्ट स्टडीजमा ३ नयाँ विषय थपिएका छन् । एग्रो फरेस्ट्री, इन्भाइरोमेन्ट र डेभलपमेन्ट स्टडीजको नयाँ भर्ना चलिरहेको छ । यी विषयले दक्ष जनशक्ति उत्पादन गर्नेमा आचार्य विश्वस्त छन् ।

अब रुपन्देहीको  देवदहमा १०० विगाहा जमिन विश्वविद्यालयले पाउँदैछ । बुटवल र कपिलवस्तुमा पनि जग्गा व्यवस्थापनको प्रक्रिया छ । बुटवलमा आंगिक क्याम्पस खोल्ने उनको योजनालाई सभाले पारित गरिदिएको छ । देवदह, बुटवलमा एकैसाथ आधुनिक पूर्वाधार बनाउने योजनामा उनी छन् । 

विद्युत् प्राधिकरणमा कुलमानलाई दोहोर्‍याउनुपर्छ भन्दै सामाजिक सञ्जाल तातिरहँदा आचार्यको पहिलो कार्यकाल सकिँदैथियो । उनी ४ वर्षमा गरेका कामबाट सन्तुष्ट थिए । सामाजिक सञ्जालमा कुलमानलाई जस्तै आचार्यलाई पनि विश्वविद्यालयमा अझै अर्काे कार्यकाल राख्नुपर्छ भन्ने बलियो स्वर उठ्यो । पदाधिकारी, कर्मचारी, नागरिक समाज र लुम्बिनीबासी उनको पुनर्नियुक्ति चाहन्थे । विश्वविद्यालयका लागि ‘कुलमान’ बनेका आचार्य दोस्रो कार्यकाल ४ वर्षका लागि नियुक्त भए । 

अब धेरै काम गर्नु छैन । पूर्वाधार बनाउने काम अन्तिम चरणमा छन् । विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन मात्रै उनको ध्येय हो । ‘अब मानिसहरूले विश्वविद्यालयको चिन्ता गर्न थालेका छन्, सरकारी निकायहरू विश्वविद्यालय खोज्दै आउने अवस्था बनेको छ,’ उनी भन्छन्, ‘अब यसले शिखर चुम्ने गति लियो । इन्धन भरे मात्रै पुग्छ ।’

विश्वविद्यालयमा सयौं विदेशी विद्यार्थी पढाउने योजनाको बिजारोपण भएको छ । नयाँ विषयका लागि करीब १ दर्जन विदेशी विद्यार्थी भर्ना भइसकेका छन् । बिस्तारै रफ्तार बढ्ने जनाइएको छ । अनि विश्वविद्यालय शैक्षिक पर्यटनको थलो बन्ने अपेक्षा गरिएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्