२४ जेठ २०८३, आइतबार
पत्रपत्रिका पहिलो पेज

खोप खरिदमा अलमल, फेरियो प्रधानमन्त्रीको बोली

खोप खरिदमा अलमल, फेरियो प्रधानमन्त्रीको बोली

आइतबार राजधानीबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिकले काठमाडौंमा बर्डफ्लु देखिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ७ स्थित फुटुङका एक किसानले पालेको हाँस र टर्कीमा नमुना परीक्षण गर्दा  फर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै २ हजार ५ सय ४४ पन्छी नष्ट गरिएको छ ।
उपत्यकामा बर्डफ्लु देखिएपछि सतर्कता अपनाउन आग्रह गरिएको खबर नागरिक दैनिकमा छापिएको छ ।

बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । अहिले देखिएको बर्डफ्लु भाइरस एच५एन८ हो । विगतमा नेपालमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एच५एन१ भेटिएको थियो ।
बर्डफ्लु कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गीलगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो जतिबेला जहाँ पनि फैलिन सक्ने विज्ञ बताउँछन् । यो रोग मानिसमा पनि सर्न सक्छ । खोकीको संक्रमण जस्तै हो बर्डफ्लु । जसले कुखुरा तथा पन्छीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिंगानर्, याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने विज्ञ बताउँछन् ।

अत्यन्त द्रुत गतिमा फैलिने र ज्यान लिनसक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोगका रुपमा लिइन्छ । कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाए भाइरस नष्ट हुने चिकित्सक बताउँछन् ।
पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको हो । गत सोमबार प्रधानमन्त्री  ओलीले पशुपतिमा दर्शन र संकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिँदै सरकारले तत्काल ३० करोड दिने घोषणा गरेका थिए ।

कान्तिपुरले नै मनाङको तल्लो भेग ताचै, थोंचे र तिल्चे क्षेत्रमा डढेलोले फेरि बितण्डा मच्चाएको खबर छापेको छ । मंसिर ११ बाट तोको र थान्चोकपारिको जंगलबाट सल्केको आगो करिब दुई महिनापछि माघ पहिलो साता मात्रै ताचै क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । त्यसको एक सातापछि ताचैमै जोडिने गरी अर्को डढेलो लागेको हो ।

नागरिक दैनिकले प्रचण्ड–माधव नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभा र केपी ओली समूहले चितवनमा गरेको सभाको समाचारलाई मुख्य समाचार बनाएको छ । दुबै कार्यक्रममा बोल्ने वक्ताले एकअर्कालाई आरोप प्रत्यारोप गर्न समय खर्चिएका थिए ।

अन्नपूर्ण पोस्टले ‘तल्लो अरुण अब बन्ने’ शीर्षकमा समाचार छापेका छ । ६७९ मेगावाटको जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी सतजललाई दिने निर्णय सरकारले गरेको हो । शुक्रबार साँझ बसेको लगानी बोर्डको बैठकले उक्त आयोजनाको गाँठो फुकाएको हो ।
तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र ब्राजिलको कम्पनी ब्रास पावरले ओगटेर बसेको थियो । सर्तअनुसार काम गर्न नसक्दा अख्तियारको निर्देशनमा सरकारले अनुमतिपत्र खारेज गरेको थियो । उसले कामबिनै सरकारलाई १५ वर्ष झुलाएको थियो ।

सोही पत्रिकामा ‘ठेलामा बच्चा’ शीर्षकमा समाचार छापिएको छ । मजदुरी गर्नुपर्ने बाध्यताले बाबुआमाले दुई बच्चालाई ठेलामा छाडेर काममा जानुपर्ने बाध्यता रहेको समाचारमा उल्लेख गरिएको छ ।
नयाँ पत्रिकाले ‘खोपः अनुदानमा आस, खरिदमा अलमल’ शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ– ७२ प्रतिशत अर्थात् दुई करोड १६ लाख नेपालीलाई खोप लगाउन चार करोड ३२ लाख डोज आवश्यक पर्छ ।

१० लाख डोज दिएको भारतले थप १० लाख दिने आश्वासन दिएको छ । चीन र बेलायतबाट केही लाख डोजको अपेक्षा, खरिदको भने टुंगो छैन । समाचारमा प्रधानमन्त्रीनै अलमलमा रहेको र तीन दिनमै बोली फेरिएको उल्लेख गरिएको छ ।  ओलीले शनिबार चितवनमा भने–अहिले नेपालमा खोप लगाउने क्रम अगाडि बढिरहेको छ । मैले भनेको छु, एकदमै फोरफ्रन्टमा रहेर, कठिनाइ झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र हामी सम्पन्न गर्नेछौँ । बाँकी जनतालाई क्रमशः सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड–१९ लाई हामी नेपालबाट भगाउनेछौँ । बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौं । यसअघि ओलीले खोप अभियानको शुभारम्भका दिन भनेका थिए–कोही पनि नेपाल नागरिक वा नेपालमा बसोबास गरेका व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछन् । चाहे हामी अनुदानका रूपमा प्राप्त गरौँ, जस्तो यसपल्ट प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस् । करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्छौँ । मेरो विचारमा तीन महिना लाग्न सक्छ भन्ने लाग्छ ।

नयाँ पत्रिकामा नै ‘एक वर्षमा ३ शैक्षिक सत्रमा भर्ना’ शीर्षकमा समाचार छापिएको छ ।  त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत एलएलबीमा तीन शैक्षिक सत्रको भर्ना एक वर्षमै हुने भएको छ । भर्ना हुने विद्यार्थी संख्याको विषयमा भएको विवादका कारण दुई वर्षअघि प्रवेश परीक्षाको फारम भरेका विद्यार्थीले समेत भर्ना पाएका थिएनन् । रोकिएको भर्ना खुलेसँगै ०७५ देखि ०७७ सम्मका तीन शैक्षिक सत्रको भर्ना अब एक वर्षभित्रै हुनेछ । शैक्षिक सत्र ०७५ को भर्ना यही महिना हुनेछ । तीनवर्षे एलएलबी अध्ययनका लागि सबैभन्दा बढी चाप हुने त्रिविको आंगिक नेपाल ल क्याम्पसमा शनिबार प्रवेश परीक्षा भएको छ । त्यस्तै, आगामी चैतमा शैक्षिक सत्र ०७६ को भर्ना लिने तयारी छ । त्यसपछि असोजमा शैक्षिक सत्र ०७७ को भर्ना लिने त्रिविको तयारी छ । शैक्षिक सत्र ०७५ मा भर्नाका लागि प्रवेश परीक्षाको प्रक्रिया सुरु भएपछि विद्यार्थीले खुला भर्ना गर्नुपर्ने माग गर्दै २६ वैशाख ०७६ मा नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका थिए । अर्कोथरी विद्यार्थीले खुला भर्ना गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही पत्रिकमा नेपाली सेनाले अन्ततः काठमाडौं–निजगढ फास्ट ट्र्याकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाबिना नै करिब १२ अर्बको ठेक्का लगाउने भएको समाचार छापिएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ । टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज– वानका लागि दुई र फेज– टुका लागि एक कम्पनी छनोट गरिसकेको छ । फेज– वानमा दुईवटा कम्पनीबीच दरभाउमा प्रतिस्पर्धा हुनेछ भने फेज– टुमा एउटा मात्रै कम्पनी छनोट भएकाले आर्थिक प्रतिस्पर्धा नै हुनेछैन ।

१६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको खबर नयाँ पत्रिकाले छापेको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्ति भरण अवधि २० वर्ष तोकिएको थियो ।

गोरखापत्रले दस  वर्षअघि  सुरु  भएको ‘जनता   आवास   कार्यक्रम’ अन्तर्गत   मुलुकभर  २० हजार भन्दा  बढी  परिवारले सुरक्षित  आवास  पाएको खबर गोरखापत्रले छापेको छ । सोही पत्रिकामा प्रधानमन्त्रीको भाषण, सुरुमा खोप लगाउन पाउँदा स्वास्थ्यकर्मीमा खुसीयाली छाएको सहितका अन्य औपचारिक कार्यक्रमका समाचार छापिएका छन् ।

राजधानी दैनिकले प्रतिनिधिसभा पुनःस्थापनाका सवालमा काँग्रेसमा दुई धार देखिएको खबर छापेको छ । यो सवालमा सभापति शेरबहादुर देउवा नरम देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला आक्रामक देखिएको समाचारमा उल्लेख छ । यस्तै ई–पासपोर्ट ल्याउने प्रक्रिया अघि बढेको खबर पनि सोही पत्रिकामा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्