
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटन विरुद्धको संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस तयार रहेको दाबी गरेका छन् ।
सोमवार बसेको केन्द्रीय समिती बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमार्फत नै प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताए ।
संयुक्त आन्दोलनका लागि सोमवार मात्र कांग्रेससँग वार्ता भएको र आन्दोलनका लागि कांग्रेस तयार भएको प्रचण्डले ब्रिफिङ गरेका थिए ।
‘नेकपा विभाजन नै नभएको भनेर कांग्रेस आन्दोलनमा आउन तयार भएको थिएन, आजको वार्तापछि कांग्रेस सकारात्मक भएको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
सर्वोच्चले जनभावना अनुसार प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गर्दै प्रचण्डले सर्वोच्चले पुनःस्थापना नगरे जनताले पुनःस्थापना गर्ने बताएका थिए । प्रचण्डको यस्तै अभिव्यक्तिलाई लिएर सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ ।
बैठकमा अर्का अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको ७० प्रतिशतभन्दा बढी सदस्य आफूहरूसँग रहेको दाबी गर्दै अर्को पक्षले पार्टी विभाजन समेत गर्न नसक्ने जिकीर गरेका थिए ।
‘सर्वोच्चले निर्णय गर्दा जनमतको आधारमा निर्णय गर्ने हाम्रो विश्वास छ,’ नेपालले भनेका थिए । केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट निष्कासन गर्ने र विष्णु पौडेललाई महासचिवबाट हटाउने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ ।
बैठकले पार्टी आधिकारिकताको दाबीसहित निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।