
राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ ।
“कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।
नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट पक्राउ गरिनु, अधिक बल प्रयोग गरी घाइते बनाइनु तथा आमहड्ताल आह्वानकर्ताबाट आम नागरिकलाई आवतजावत गर्नबाट वञ्चित गराउनु मानव अधिकारको मूल्यमान्यताविपरीतको कार्य भएको ठहर गर्दै आयोगले यसतर्फ संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।