
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार काठमाडौंमा भएको जनसभाको उपस्थितिले नेकपाको मूल धारको फैसला भएको दाबी गरेका छन् ।
उनले आजको सभा कास्टिङ भन्दै आमसभा गर्नुपरे काठमाडौंका सडकभरी स्पिकर राख्नुपर्ने दिन आउने दाबी गरे ।
काठमाडौंको दरबार मार्गमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल समूहले दुई चार हजार मान्छे जम्मा गरेर आफूहरूलाई ललकार्न खोजेका कारण आजको सभा गर्नु परेको बताएका हुन् ।
‘फेरि मान्छेहरू सोधिराखेका छन्, मूल पार्टी कुन हो भनेर । अब पनि मूल पार्टी कुन हो अलमलमा छ भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनु भएन ? यही हो मूल पार्टी जहाँ हामी छौं’ ओलीले भने, ‘आजबाट कुन पार्टी मूल पार्टी, कुन खास, कुन सक्कली र नक्कली भन्ने फैसला भयो ।’
प्रधानमन्त्री ओलीले संसद्लाई पंगु बनाएर अस्थिरता सिर्जना गर्न खोजिएपछि प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानु परेको भन्दै चुनावले नै सबै कुराको फैसला गर्ने बताए ।