
लुम्बिनीमा सञ्चालन हुनुपर्ने पर्यटन बस अलपत्र
पर्यटन क्षेत्रको विकास गर्दै लुम्बिनीलाई प्रदुषणबाट बचाउन भन्दै भित्र्यइएका वातावरणमैत्री सवारी साधन लामो समयदेखि यत्तिकै थन्किएका छन् ।
पर्यटक र तीर्थ यात्रुलाई लुम्बिनीसम्म बोक्ने गरी ल्याइएका विद्युतीय बस र ‘भ्यान’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छैन ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी ‘बुद्ध सर्किट’मा सञ्चालनका लागि गएको मंसिर २ गते बस र पुस १४ गते भ्यान लुम्बिनी आइपुगेका थिए ।
दुई वर्षअगाडि लुम्बिनीका लागि भनेर ल्याइएका विद्युतीय बस काठमाडौंमा प्रधानमन्त्रीले उद्घाटन गरे पनि चलेनन् ।
फेरि अहिले आएका सवारीसाधानको हालत पनि त्यस्तै हुने हो कि भन्ने यस क्षेत्रका पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गर्न थालेको छन् ।

लुम्बिनी क्षेत्रमा सञ्चालित ठूला उद्योगले लुम्बिनी प्रदुषित हुँदैगएको छ । प्रदुषण रोक्नका लागि वातावरणमैत्री गाडी भित्र्याइएको हो ।
वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति सरकारले अगाडि सारे पनि, गाडी सञ्चालनमा अझै अन्यौलता छाएको छ ।
लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विकास कोषलाई हस्तान्तरण गरी नसकेको बताए ।
उनले लोकान्तरसँग भने, ‘गाडी र भ्यान आएको दुई महिनाजति भयो । हामीलाई मन्त्रालयले अझै ‘ह्यान्डओभर’ गरिएको छैन । गाडीको चेकजाँचदेखि सञ्चालन कसरी गर्ने भन्ने काम अझै हुन सकेन ।’
भट्टराईले थपे, ‘हामीले मन्त्रालयसँग छलफल गर्ने योजना बनाएका छौं । त्यसपछि कुनै निचोडमा पुगिएला ।’ लामो समय गाडी थन्किँदा गाडीका पार्टपूर्जा र इञ्जिन बिग्रिने सम्भावना बढ्दै जान्छ ।
एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ‘टुरिस्ट भेइकल’ भित्रिएका हुन् ।
विकास कोष आफैँ गाडी सञ्चालन नगरी टेन्डर प्रक्रियामार्फत सञ्चालन गर्न दिने योजनामा छ । आफैं यातायात सञ्चालन गर्दा थप जनशक्ति आवश्यक पर्ने देखेपछि विकास कोषले टेन्डर प्रक्रियामार्फत सञ्चालन गर्ने सोच बनाएको छ ।

गाडी र भ्यानको मूल्य १३ करोड रूपैयाँ छ । ती, गाडी चीनबाट आयात गरिएको हो । ५ वटा गाडीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया (सुनौली) नाकासम्म आइपुगेका तीर्थयात्रीलाई ‘पिक’ गरी लुम्बिनीसम्म पुर्याउनेछन्, भने १४ वटा भ्यानले लुम्बिनीभित्र रहेका विभिन्न गुम्बाहरूमा पर्यटक घुमाउनका लागि प्रयोग गरिने छ ।
अत्याधुनिक गाडी १९ सिट क्षमताका हुन् भने भ्यान पाँचसिटे छन् । अहिले लुम्बिनीभित्र ई–रिक्सा प्रयोग गरेर पर्यटकहरू विभिन्न गुम्बामा पुग्ने गर्छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले ‘टेक्निकल’ टीमले गाडीको अवस्था अध्ययन गरिहेकाले रिपोर्ट आएपछि गाडी विकास कोषलाई हस्तान्तरण गर्ने बताए ।
‘गाडी टेक्निकल स्पेसिफिकेसन’ अनुसार आएका हुन् कि हैनन् ? भनेर प्राविधिक टीमले अध्ययन गरिसकेको छ । तर, रिपोर्ट हामीलाई बुझाइसकेको छैन । साझाले भित्र्याएका विद्युतीय बस जस्तै भयो भने समस्या हुन्छ नि !’ अधिकारीले लोकान्तरसँग भने ।
अधिकारीले थपे, ‘गाडीले एयरपोर्टबाट मात्र भन्दा पनि वृहतर लुम्बिनी कपिलवस्तुको तिलौराकोट, पश्चिम नवलपरासीको रामग्राम, बुद्धमावली रूपन्देहीको देवदह क्षेत्रमा पनि तीर्थयात्रीहरू पुर्याउने गरी गाडी सञ्चालन गर्ने होस् भन्ने हाम्रो चाहना छ ।’
वृहत्तर लुम्बिनीमा सहजरूपमा सवारी उपलब्ध नहुँदा धेरै पर्यटकरू लुम्बिनी पुगेर फर्किने गर्छन् । त्यस्तै बुटवलबाट सिधा लुम्बिनीका लागि पनि गाडी लाग्दैन, भैरहवाबाट मात्र लाग्ने गर्छ, जसले गर्दा सार्वजनिक गाडी प्रयोग गर्ने पर्यटकलाई झञ्झट बेहोर्नुपर्ने अवस्था छ ।
वातानुकूलित बस अपांगमैत्री हुन् । आवाजरहित छ । एकपटक फूल चार्ज गरे चारसय किमिसम्म गुड्छ । लुम्बिनी विकास कोषका नायब सुब्बा चन्द्र पाठकले गाडी ह्यान्डओभरदेखि कसरी चलाउने प्रक्रियासम्म हुन नसकेको बताए । गाडी चार्जिङ सोलारबाट हुनेछन् ।

त्यसको लागि बस र भ्यान चार्ज गर्ने सेन्टर बनाउने काम पूरा भएको छ । एकै पटकमा २० वटा गाडी चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।
पाठकले भने, ‘यहाँ घाम नलाग्दा ग्रीडबाट विद्युत ल्याएर गाडी चार्जको व्यवस्था हुन्छ । घाम लाग्दा सोलारबाट १ घण्टामा २० वटा गाडी फूल चार्ज हुन्छ । एकपटक फूल चार्ज भएको गाडी ५०० किलोमिटर गुड्न सक्छ । चार्ज गर्नका लागि विद्युत्को समस्या हुँदैन ।’
पाठकले थपे, ‘कोरोना महामारीले ८ महिनासम्म बन्द रहेको लुम्बिनीमा भर्खरै खुलेको छ । यही बेला यहाँ आइपुगेका गाडी सञ्चालन हुन सकेमा राम्रो सन्देश जाने थियो । तीर्थयात्रुलाई पनि सहज हुनेछ ।’
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि पर्यटक बस चलाउने योजना अगाडि सारेमा त्यसतर्फ विकास कोष पोजेटिभ छ । त्यसतर्फ मन्त्रालयको अहिलेसम्म ध्यान जान सकेको छैन । अहिले भैरहवाबाट लुम्बिनीसम्मको बाटो ‘फोर लेन’ निर्माण सम्पन्न भइसकेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछि यस क्षेत्रमा पर्यटकको संख्या धेरै बढ्ने अपेक्षा गरिएको छ, यसले यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुर्याउने संघीय सरकारको लक्ष्य छ ।