०३ असार २०८३, बुधबार

चुलाचुलीमा धान भण्डारण गृह निर्माण हुँदै

माघ २८, २०७७
चुलाचुलीमा धान भण्डारण गृह निर्माण हुँदै
प्रतिकात्मक तस्वीर

इलामको चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ ।

किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो ।

गत पुसको पहिलो हप्ताबाट निर्माण शुरू भएको भण्डारण गृह निर्माण माघसम्ममा सकिने छ ।

सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०र५० प्रतिशत खर्चमा बन्ने भवनको कूल लागत १२ लाख ३८ हजार रुपैयाँ हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुने क्षेत्र हो । किसानलाई सर्वसुलभ मूल्यमा धान बेच्नका लागि भण्डारण गृह आवश्यक परेको हो ।

इलामका किसानले झापा र मोरङमा धान बेच्छन् । ठूलो परिमाणमा एकैपटक बेच्दा बढी मूल्य पर्नाले भण्डारण गृह आवश्यक परेको उपभोक्ता समिति चुलाचुलीका संयोजक त्रिलोचन गौतमले बताए ।

सहकारीमार्फत किसानले धान बिक्री गर्छन् । भण्डारण गृह निर्माणपछि धान केलाउन र गे्रडिङ गर्न सहज हुने गौतमले जानकारी दिए । भण्डारण गृह एकतले र ३ कोठे हुनेछ । झापा र मोरङका विभिन्न स्थान लगेर इलामका किसानले धान बेच्ने गरेका छन् । धान मात्र होइन, भण्डारण गृहमार्फत धान पेलेर चामल बेच्ने प्रबन्ध पनि मिलाउँदै गरेको संयोजक गौतमको भनाइ छ ।

इलामकै अन्न खानी भनेर चिनिने यो क्षेत्र झापा जिल्लाको सीमावर्ती जिल्ला हो । तराईको फाँट भएकाले पनि यहाँका ९५ प्रतिशत किसानले धानखेती गर्छन् । इलामको तल्लो भेग भएकाले जिल्लास्थित ज्ञान केन्द्रमार्फत पाउने सुविधा नपाउने गरेको यहाँका किसानको गुनासो छ तर पछिल्लो समय केन्द्रकै अगुवाइमा यस्ता काम हुन थालेपछि किसान केही सकारात्मक देखिन थालेका छन् ।

गत वर्ष पनि ज्ञान केन्द्रले चुलाचुलीका किसानलाई धान बोक्ने ट्रयाक्टर वितरण गरेको थियो ।

‘धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, ‘खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्