
पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीको रोहबरमा मंगलवार पोखरामा स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै नापतौलका सामान पुनः प्रमाणित गरिएको हो ।
भाँडा व्यवसायीले आफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।
उद्योगी/व्यवसायी पनि उपभोक्ता नै भएको स्मरण गर्दै उनले सामाजिक संस्थाका रूपमा पोखरा उद्योग वाणिज्य संघ सदैव उपभोक्ताको हितमा रहेको बताए ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ, कपडा एशोसिएशन पोखरा र पोखरा भाँडा व्यवसायी संघको संयुक्त आयोजनामा गरिएको परीक्षण कार्यक्रममा व्यवसायीले आफ्ना नापतौलका सामान चुस्तदुरुस्त बनाएको भन्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले सबैलाई धन्यवाद व्यक्त गरे । व्यवसायीलाई नापतौल कार्यालयमै पुगेर पनि आफ्ना सामान चुस्त र दुरुस्त बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख तिलक केसी, रुघुनाथ पौडेल, विपिन पुरीलगायतले नापतौलका सामान अद्यावधिक गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले नापतौलका सामान चुस्तदुरुस्त राख्न व्यवसायीलाई आग्रह गर्दै संघ सदैव स्वच्छ व्यवसायीको पक्षमा रहेको उल्लेख गरे ।