२१ जेठ २०८३, बिहीबार

कर्णालीमा पहिलो चरणमा छुटेकालाई कोरोना खोप लगाइँदै

फागुन २, २०७७
कर्णालीमा पहिलो चरणमा छुटेकालाई कोरोना खोप लगाइँदै
प्रतिकात्मक तस्वीर

कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आइतवार लगाउन थालिएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका २ हजार ३६० जनाले विभिन्न कारणले खोप लगाएका थिएनन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आइतवार खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खोप माग गरिएको छ । ‘पहिलो चरणमा मौज्दात रहेको खोप लगाउँदैछौं, केन्द्रबाट आइपुगेको छैन,’ निर्देशक डा. खड्काले भने, ‘२ मात्रामा लगाउनुपर्ने हुँदा मौज्दात छ, तत्काल मौज्दात रहेकै खोप लगाउँछौं ।’

दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ । जनशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

कर्णालीमा पहिलो चरणमा ९ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा सरसफाइकर्मी, एम्बुलेन्स चालक, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो ।

यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आइतवारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू गर्दैछ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए ।

नगरपालिकाले पहिलो चरणमा छुटेका, स्थानीय तहका जनप्रतिनिधि, नगरका निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय समूहका कर्मचारी (अदालत, वकिल) र पत्रकारलाई फागुन ८ गतेसम्म खोप लगाउन मिति निर्धारण गरेको छ ।

खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

विश्व स्वास्थ्य संगठनबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्