०३ असार २०८३, बुधबार

कृष्णलाई राधाकाे प्रेम पत्र

फागुन २, २०७७
कृष्णलाई राधाकाे प्रेम पत्र
  • सुस्मिता अर्याल

हृदयेश्वर ! 

असीम प्रेम ।

मलाई गोकुलमा एक्लै बनाएर द्वारका प्रवेश गर्नुभएको पनि वर्षौँ भइसकेछ । राधा बिनाको कृष्णलाई सम्हाल्न द्वारकामा रुक्मिणी त होलिन्, किन्तु यहाँ कृष्णबिना राधाको के गति भएको होला ?

हजुरले मलाई छोडेपछि सिङ्गै प्रकृति मेरो विरुद्ध उभिएझैँ लाग्छ । अचेल मेरो हृदयको ब्रह्माण्डमा उदाउँदैन सूरय , मनको वृन्दावनमा फुल्दैन पुष्प , चित्तको बार्दलीमा हजुरको मुहारको बिम्ब बोकेर उदाउँदैन जुन । यमुनाले एउटा भँगालो मेरो आँखातिरै पठाएकी छिन्, बाँसुरी आजभोलि विरहको गीतमात्र गाउँछ, मयूरको नृत्य पनि बेताल-बेतालझैँ लाग्छ अचेल ।

हृदयेश्वर ! एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाएर प्रेमलाई चरमोत्कर्षमा पुऱ्याउने रहेछ । वर्तमानको विरहले नपिरोल्ने पटक्कै होइन, तर जब विगतका स्मृतिका पानाहरू पल्टिन थाल्छन्, तब झन् अनुरक्ति प्रगाढ भएर आउँछ । जब स्मृतिहरू हृदयमा सल्बलाउन थाल्छन्, हजुरको न्यास्रोले मर्माहत बनाइदिन्छ, उसै दुनियासँग बेखर हुन थालिहाल्छु । आँखै अघि वर्तमान बनेर विगत नाच्छ थाल्छ । लाग्छ यस स्मृतिको दुनियाँबाट पटक्कै नब्यूझियूँ । यसैमा हराइरहूँ । किन्तु फेर झल्याँस्स हुन्छु । अनि फेरि उही वर्तमानको घोचाइ सुरु हुन्छ । 

ती पलहरू कति मोहक थिए, कति मादक थियो त्यो स्पर्श, कति मधुर थियो त्यो अनुभूति, जब एक अर्काको सामीप्यको रापले गुलाबी हुन्थ्यो एक अर्काको रङ्ग, हजुरका औँलाहरूले मेरा कपालका केस्रा केस्रा चलाउँदा लाग्थ्यो, रौँ-रौँमा जीवन सञ्चार भइरहेको छ, जब निधार हुँदै बिस्तारै अधरसँग अधरको मिलन हुन्थ्यो त्यो पलले अझै पनि सिरिङ्ग गराउँछ, आफ्नो अस्तित्वलाई हजुरको छातीमा बिसाएर टाउको लुकाएको क्षण कति महत्त्वपूर्ण थियो, हजुले आफ्नै हातले प्रेमपूर्वक खुवाएको गाँस अलौकिक अमृतमय थियो, प्रेमका बिन्दुहरू मेरो आँखाबाट निस्किएर जब हजुरको काँधमा खसेका थिए त्यो समय कति आनन्दमय थियो, जब हामी एकान्तमा एक-अर्काका नयनबाट एक-अर्कामा समाहित हुन्थ्यौँ कति मिठा थिए ती क्षण, एकले अर्काको धड्कनको अनुभूति गर्दा कति छिटै बितिजान्थ्याे अनेकौँ घडीको समय एक पलाझैँ । लाग्छ ती हरेक क्षणका स्मृतिको बन्धनमा बाँधिएको छु, जुन बन्धनको छुट्कारा म कहिल्यै नहोस् भन्ने चाहन्छु । 

जब हजुर मलाई सताउनुहुन्छ र रसिला आँखा लिएर मैले तिमीलाई सताएँ है ! भन्नुहुन्छ, ती रसिला आँखाले द्रवित बनाइरहन्छन् बेला-बेलामा । केही बोल्ने कोसिस गर्दागर्दै जब हजुरको गला अवरुद्ध हुन्छ, म स्तब्ध हुन्छु उसै उसै । केही लेखूँ हात काँप्न थालिहाल्छन् उसै । हजुरले मलाई बोल्ने हरेक सम्बोधनका शब्दहरूको स्मृतिमात्र मसित बाँकी छ र पनि स्मृतिकै पानाका अक्षरहरू ध्वनि बनेर कानमा गुन्जिजान्छन् हरेक पटक सम्झिँदा । म तन्द्रामा नै हजुर ! भन्न पुगिजान्छु उसै उसै । 

प्रभु ! 

हजुरसँग बिताएका प्रत्येक पल मैले हृदयको पानपाते पानामा जतन साथ राखेकी छु । र कसैले नचोरुन् भनेर लगाएकी छु समर्पणको चाबी । 

न त मैले छाडेर छोड्न मिल्छ वृन्दावनको आकाश, न त हजुरको धर्मले नाघ्न दिन्छ द्वारकाको सीमा । अब म स्मृतिको पुस्तकका तिनै अक्षरहरूसित बाँच्नु छ । 

भगवान् ! 

सांसारिक दुःखले जति सताए पनि हामी अभिन्न हौँ भन्ने हजुरका मन्त्रवत् वाक्यहरूले सहलाइरहेझैँ अनुभूति हुन्छ । तिनै हजुरका अमृतमय वचनहरूले मनको दाह मेट्ने न हुन् । म तिनैसित बानी परेको छु । के भनूँ र ? अरु हजुरलाई यथावत् छ । अस्तु ।

उही हजुरकी

राधा

salt training

कमेन्ट गर्नुहोस्