२१ जेठ २०८३, बिहीबार

उत्तराखण्डको हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, ११ नेपालीको अवस्था अझै अज्ञात

फागुन ३, २०७७
उत्तराखण्डको हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, ११ नेपालीको अवस्था अझै अज्ञात

 भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी विस्फोटपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उद्धारका क्रममा आइतबार भेटिएका थप १२ शवसहित हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको चमोली जिल्ला प्रशासन कार्यालयको कन्ट्रोल रुमले जनाएको छ ।

१२ मध्ये ६ शव रैनी क्षेत्रबाट, ५ शव तपोवनस्थित एनटीपीसी परियोजनाको सुरुङबाट र अर्को एक शव रुद्रप्रयागमा नदी किनारमा फेला परेको जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार भेटिएका सबै शवको पहिचान भइसकेको छ, जसमा कोही पनि नेपाली छैनन् । यसअघि भेटिएका सबै शवको पहिचान भइसकेको छैन । प्रहरीका अनुसार हालसम्म २५ शवको मात्र पहिचान भएको छ ।

कुहिने डरले बरामद शवमध्ये पहिचान नभएकाको डीएनए नमुना राखेर प्रहरीले अन्तिम संस्कार गरिरहेको छ । हालसम्म शव र शरीरका विभिन्न अंगसहित ४१ वटाको अन्तिम संस्कार गरिएको बताइएको छ । तीमध्ये हराइरहेका नेपालीको शव भए/नभएको खुलेको छैन ।

उत्तराखण्डको जोशी मठ नजिक गत आइतबार हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्‍याएको हो । हिमनदी फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगेका छन् । त्यसैगरी बाढीले जोशी मठमा एउटा पुल पनि बगाएको बताइएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटीपीसी जलविद्युत् परियोजनामा बढी क्षति पुगेको हो । निर्माणाधीन ऋषिगंगा परियोजनाको बाँध र सुरुङ पूर्ण रूपमा ध्वस्त भएको छ भने तपोवनस्थित एनटीपीसीको जलविद्युत् परियोजनाका दुईवटै सुरुङमा क्षति पुगेको छ । बाढीले एनटीपीसीको जलविद्युत् परियोजनाको दुई सुरुङ हिलो र ढुंगाले भरिएका थिए । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्