
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल ८ हजार रुपैयाँ अतिरिक्त रकम (घुस) सहित पक्राउ परेका छन् ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै चन्द र दाहाल पक्राउ परेका जानकारी दिए ।
‘सेवाग्राहीलाई शेयर पुँजी बढाएको प्रमाणपत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनुपर्छ भनि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज लेखापढीको काम गर्ने रामबाबु दाहालले ८,००० (आठ हजार) लिई नायव सुब्बा नरेन्द्र चन्दलाई दिइसकेको अवस्थामा रकमसहित २०७७/११/०२ गते विभाग परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।