
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे ।
संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उनले उल्लेख गरे । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिए । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उनको भनाइ थियो ।