
भूकम्पले क्षति भएको सिंहदरबार अझ कलापूर्ण ढङ्गले प्रबलीकरण भएसँगै नेपाल सरकारको केन्द्रीय सचिवालय अब त्यसै स्थानबाट सञ्चालनमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको प्रमुख प्रशासनिक भवन सिंहदरबार पूर्वी मोहडा भवन सोमबार उद्घाटन गरेसँगै केन्द्रीय सचिवालय त्यहीँबाट सञ्चालनमा आउन थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार भवनको उक्त खण्ड भूकम्पले क्षति पु¥याएपछि सो कार्यालय नजिकैको अर्काे भवनमा स्थानान्तरण गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमबार नै सिंहदरबारस्थित पहिलेकै स्थानमा सारिएको छ । उद्घाटनपछि प्रधानमन्त्री ओलीले आफ्नो कार्यकक्ष प्रवेश गरी दैनिक काम सुरु गरे । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण भएको र यसै भवनबाटै प्रधानमन्त्री कार्यालयबाट प्रदान गरिने सेवा सञ्चालन हुन थालेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।