
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।
सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा सोमवार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गरे ।
‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने ।
निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नुनपर्ने बताउँदै देउवाले यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु । कार्यतालिका किन प्रकाशित गर्दैन ? दलहरूलाई किन चुनाव चिह्न दिँदैन निर्वाचन आयोगले ?’
नेकपाको झगडाले कांग्रेस पार्टीभित्रसमेत असर गरेको बताउँदै उनले कांग्रेसलाई नेकपाको झगडाको रमिता हेर्नु छैन भने । सुर्य चिह्न नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ ।
उनले आयोगलाई सूर्य चुनाव चिह्न एउटै रहेको भन्दै प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे ।
अदालतमा विचाराधीन मुद्दामा नेपाली कांग्रेसले यही गर भन्न नमिल्ने बताउँदै उनले अदालतको निर्णय कांग्रेसले शिरोधार्य गर्ने बताए । संसद् पुनःस्थापनाको विषयमा पार्टीमा फरक–फरक मत आएको भन्दै देउवाले कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन मुद्दामा अदालतलाई दबाब दिन नहुने विचार व्यक्त गरे ।
‘अदालतले संसद् पुनःस्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ,’ देउवाको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै सभापति देउवाले निर्वाचन आयोगले त्यसलाई बेवास्ता गरेको टिप्पणी गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको सरकार बनेदेखि नै संविधानमाथि निरन्तर प्रहार गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले मिडियामाथि आक्रमण गरेको आरोप लगाए ।
संविधानको मर्म र भावना विपरीत ओली सरकारले मिडिया विधेयक, मानव अधिकार विधेयक, सुरक्षा परिषद्सम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानलाई सिध्याउने कार्यमा लागेकोे भन्दै खाँणले अब सिद्धिने पालो ओलीको भएको बताए ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको मात्रै विरोध गर्दै आएको भन्दै उहाँले लक्ष्मण रेखा नाघ्ने दुस्साहस गरे ओली सरकार र कम्युनिस्टविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिए ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संसद् विघटन र चुनावको विषयमा पार्टीका नेताहरूको फरक–फरक धारणा सार्वजनिक हुँदा कार्यकर्ता र जनतामा निरासा छाएको भन्दै एउटै धारणा बनाएर जान नेतृत्वलाई आग्रह गरे ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद यादव, प्रदेशसभा सदस्य रमा अर्याल लगायतले बोलेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।