३० असार २०८३, मंगलबार

एमिकस क्युरीको राय : ‘संविधान दुर्घटनामा परिसक्यो, अब अदालतको सहारा खोजिएको छ’

एमिकस क्युरीको राय : ‘संविधान दुर्घटनामा परिसक्यो, अब अदालतको सहारा खोजिएको छ’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान दुर्घटनामा परिसकेको बताएका छन् ।

संविधानको रक्षा गर्नुपर्ने राजनीतिक दलहरू नै आन्दोलनमा लागिरहेकाले संविधान रक्षा हुन नसकेको उनले बताए ।

‘प्रतिनिधिसभा विघटन भइसकेको छ । संविधान जसले लागू गर्नुपर्ने थियो, उसैबाट हाम्रो संविधान दुर्घटनामा पर्‍यो । बाहिर मानिसहरू आफैं बोली रहेका छन् । यस्तो अवस्थामा इजलासमा बस्ने ५ जना श्रीमान्हरूले गर्ने निर्णय नै महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘संविधानको रक्षा गर्नुपर्नेहरू आन्दोलनमा लागेका छन् । सविधानको दुर्घटना भएको स्वीकारेका छन् । हामीले संविधान जोगाउन नसकेको हो । अहिले अदालतको सहारा खोजिएको छ ।’

संविधान निर्माणका क्रममा ४ राजनीतिक दलबीच १६ बुँदे सहमति नहुँदासम्म सहमति हुन नसकेको स्मरण गर्दै कार्कीले भने, ‘संविधानको धारा ७४ मा संसदीय प्रणाली बहुलवादमा आधारित हुने भन्ने छ । साथीहरूबाट आएका कुरो संसदीय भन्ने कुरोमा कुनै अल्मलिनुपर्ने कारण देख्दिनँ ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीका रूपमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बारबाट २ जना गरी ५ जनालाई अदालतको सहयोगीका रूपमा सहभागी गराइएको छ ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीसहित विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । ती रिटहरूमाथि रिट निवेदक पक्ष, विपक्षी र रिट निवेदकको जवाफी बहस पनि सम्पन्न भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्