
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक पूर्व सरकारी कर्मचारीसँग माफी मागेका छन् ।
ती कर्मचारीले आफूलाई दुई वर्षअघि एक मन्त्रीको कार्यालयमा सहकर्मीले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
ब्रिट्टनी हिगिन्स नामक ती कर्मचारीले सोमवार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै एक सहकर्मीले तत्कालीन रक्षा उद्योगमन्त्री लिन्डा रिनोल्ड्सको कार्यालयमा बलात्कार गरेको र आफूलाई माथिल्ला अधिकारीहरूले सहयोग नगरेको बताइन् ।
बलात्कार गर्ने पुरुषको नाम उनले खुलाएकी छैनन् ।
सन् २०१९ मा ती व्यक्तिले बेस्सरी रक्सी पिएको सुरमा हिगिन्सलाई मन्त्रीको कार्यालयमा लगेर त्यहाँ एक सोफामा राखी बलात्कार गरेको आरोप छ । सुरक्षा व्यवस्थापनमा भेद गरेको आरोपमा ती व्यक्तिलाई बर्खास्त गरिएको थियो ।
हिगिन्स त्यतिखेर रिनोल्ड्सकी प्रेस सल्लाहकार थिइन् । त्यतिखेर उनले रोजगारीमा असर पर्न सक्ने ठानेर प्रहरीमा उजुरी गरेको थियो ।
हिगिन्सले गत जनवरी महिनामा राजीनामा दिएकी थिइन् र प्रहरीमा उजुरी गर्ने बताएकी छन् ।
हिगिन्सले बलात्कारको बारेमा कुरा झिक्दा रिनोल्ड्सले प्रश्न गर्न हुँदैनथियो किनकि उनकै कार्यालयमा बलात्कार भएको थियो, प्रधानमन्त्री मोरिसनले बताए ।
‘
त्यस्तो हुनु हुँदैनथियो र म क्षमा माग्छु,’ मोरिसनले पत्रकारहरूलाई बताए ।
रिनोल्ड्स अहिले रक्षामन्त्री छिन् र उनले पनि हिगिन्ससँग माफी मागेकी छन् । घटना भएपछि हिगिन्सलाई पर्याप्त सहयोग नगरेको भन्दै उनले पश्चात्ताप समेत गरेकी छन् ।