
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफूले राखेका तीनवटा प्रस्तावहरू पास नभएको खुलासा गरेका छन् ।
शुक्रवार धरान उपमहानगरपालिकामा रहेको बीपी पार्कमा बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टी केन्द्रीय समितिमा आफूले राखेका प्रस्तावहरू पास नगरेर कांग्रेस निर्णयबिहीन बनेको आरोप लगाए ।
।
'मैले पार्टीमा तीनवटा प्रस्ताव राखेको थिएँ,' उनले भने, 'पहिलो संवैधानिक अंगमा भएका नियुक्तिको खारेजी गर्न माग गर्ने, दोस्रो संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने र तेस्रो प्रदेशमा दर्ता भएका अविश्वासको प्रस्तावको पक्षमा उभिने । यी तीनैवटा प्रस्ताव पास भएनन् । कांग्रेस अहिले निर्णयबिहीन बनेको छ ।'
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव भएन भने वैशाख २७ गतेपछि देशमा कसले शासन गर्छ भनी प्रश्न गरे ।
'शेरबहादुर देउवाले विघटन गरेको संसदलाई आन्दोलनबाट फर्काएको हो नि,' पौडेलले भने, 'फेरि इतिहास नदोहोरियोस २०६२/६३ को जस्तो ।'
उनले वैशाख १७ र २७ गतेको चुनाव नहुने ठोकुवा गरे । 'यो चुनाव त हुनेवाला छैन,' उनले भने, 'वैशाखको २७ गतेपछि शासनको अथोरिटी कोसँग हुन्छ ? चुनाव गर्छु भनेकाले वैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यसपछि शासन गर्ने अधिकार कोसँग हुन्छ ?'
ओलीको शासन गर्ने वैधता समाप्त भएपछि यो देशमा जोसँग हतियार छ, त्यसैको शासन हुने पौडेलको भनाइ छ ।
'यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुँदैन,' पौडेलले भने, 'मेरो पार्टीमा नेताहरुसँग यही आग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा रमिते बन्नुहुँदैन ।'
उनले नेपाली कांग्रेस देशको भरोसा भएको बताए । 'हिजो राजा थिए । आजको भरोसा राजनीतिक दल नै हुन् । राजनीतिक दलहरुलाई पनि नेपाली जनताले भरोसा गरेका थिए । ती जनतालाई धोका दिएर कता कता पुगे । त्यसैले मुलुक र जनताको भरोसा कांग्रेस नै हो,' उनले भने ।