०३ असार २०८३, बुधबार

काभ्रेमा फरार अभियुक्त पक्राउ गर्ने प्रहरीको अभियान, १२ जना पक्राउ

फागुन १३, २०७७
काभ्रेमा फरार अभियुक्त पक्राउ गर्ने प्रहरीको अभियान, १२ जना पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ ।

कार्यालयले शुरू गरेको अभियानको दोस्रो हप्तासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालतमार्फत कारागार पठाएको छ ।

प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेपलाञ्चोकमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

‘सर्वोच्च र जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेका छौं, यो अभियान निरन्तर सञ्चालन गर्छौं,’ उनले भने ।

उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।

‘तत्तत् निकायले उपलब्ध गराएको लगतका आधारमा सबैलाई पक्राउ गरिएको छ, यसलाई शतप्रतिशत उपलब्धि मानेका छौं,’ खत्रीले भने । उनका अनुसार फागुनयता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् ।

गत माघ पहिलो हप्ता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए ।

कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधवार एकैदिन ६ जना पक्राउ परेका छन् । जसमध्ये ३ वर्षदेखि लागूऔषध मुद्दामा ६ महिना कैदा फैसला भएका फरार बनेपा नगरपालिका–१२ गोठडाँडाका ४३ वर्षीय टीकाबहादुर तामाङ, ५ वर्षअघि केही सार्वजनिक अपराध मुद्दामा जरिवाना असुल फैसला सुनाइएका मण्डनदेउपुर नगरपालिका–६ का ३१ वर्षका महेश राई र २८ वर्षीय राजन राई, ४ वर्षअघि सवारी ज्यान/सरकारी छाप दस्तखत कीर्ते मुद्दामा २ वर्ष ११ महिना कैद फैसला सुनाइएका पनौती नपा–२ का दीपेन्द्र हुमागाईं, ७ वर्षअघि घर भत्काउने मुद्दामा जरिवाना सुनाइएका बनेपा नपा–१४ का ४८ वर्षीय तिलकबहादुर राई र ठगी मुद्दामा जरिवाना फैसला सुनाइएका धुलिखेल नपा–१ का ३९ वर्षीय यादव घोरासैनी छन् । 

salt training

कमेन्ट गर्नुहोस्