१२ असार २०८३, शुक्रबार

९०० पर्ने सेनिटाइजर ३५०० मा खरिद

फागुन १४, २०७७
९०० पर्ने सेनिटाइजर ३५०० मा खरिद

स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो । 


बजारमा सस्तोमा सहजै पाइने बेला गत माघ २२ मा स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो । मन्त्रालयले माघ २२ मा मुक्तिनाथ मेडिको फर्मासँग ३० हजार थान मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५ लिटरको ३५ जार सेनिटाइजर र ५ लिटरकै ३० जार क्लोरिन खरिद गरेको थियो । ती सामानको बजार मूल्य भने त्यतिबेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरू बताउँछन् । निश्चित व्यक्तिहरूले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘कमिसन नभएको भए बजार मूल्यभन्दा महँगोमा किन खरिद गर्छन् ?’ उच्च तहका एक कर्मचारीले भने, ‘यतिको महँगो त मुलुकमा स्वास्थ्य सामग्री अभाव हुँदा पनि थिएन ।’

मन्त्रालयले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा सबैभन्दा राम्रो मानिएको डोचेम कम्पनीकै मास्क बजारमा पाइन्छ । ‘हामीले साढे ६ रुपैयाँमा डोचेम मास्क बिक्री गरिरहेका छौं,’ त्रिपुरेश्वरस्थित एक मेडिकल सप्लायर्सले भने, ‘सात रुपैयाँ पर्ने मास्क कस्तो रहेछ ?’ मेलबन भएको सबैभन्दा सस्तो मास्क २ रुपैयाँमा बजारमा उपलब्ध छ । मन्त्रालयले चिनियाँ कम्पनी होडोको तीन प्लाईको मास्क खरिद गरेको हो ।

कान्तिपुरले ग्राहक बनेर मुक्तिनाथ मेडिको फर्माका सञ्चालक मनोज चौलागाईंलाई मन्त्रालयमा उपलब्ध गराएको मास्क र अन्य सामानको मूल्यबारे जानकारी लिएको थियो । ‘मन्त्रालयमै उपलब्ध गराएको मास्क ४ रुपैयाँ (एक प्याकेटको २ सय) मा दिन सकिन्छ,’ उनले भने । मन्त्रालयलाई उपलब्ध गराएको फ्लोरोना कम्पनीको सेनिटाइजर अहिले नभएकाले आफ्नै उत्पादन धर्मभक्त (५ लिटर) को ८ सय रुपैयाँमा उपलब्ध गराउने उनले बताए । शान्तिनगर, कोटेश्वर, लोकन्थलीमा आफ्नो स्टोर रहेको उल्लेख गर्दै उनले पायक पर्ने जुनसुकै ठाउँबाट सामान लिन सकिने बताए । मन्त्रालयलाई बिक्री गरेकै सामान न्यून मूल्यमा उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो । ‘मन्त्रालयलाई हामीले जुन सामान दिएका हौं, त्यही दिन्छौं,’ चौलागाईंले भने ।

नेपाली बजारमा नेपाल औषधि कम्पनी लिमिटेडले उत्पादन गरेको सेनिटाइजर सबैभन्दा महँगो मानिन्छ । कम्पनीले ५ लिटरको सेनिटाइजर ३ हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ । मन्त्रालयले भने सरकारी स्वामित्वको कम्पनीले उत्पादन गरेकोभन्दा पनि महँगोमा किनेको छ । ‘कताबाट कमिसन धेरै आउँछ, त्यतै किन्ने भएकाले निजी कम्पनीबाट लिएको हुन सक्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘बजार मूल्यभन्दा बढीमा खरिद गर्नु त भ्रष्टाचार हो । यस विषयमा अख्तियारको पनि ध्यान जानुपर्छ ।’

मुक्तिनाथ मेडिको फर्माले मन्त्रालयलाई फ्लोरोना कम्पनीको सेनिटाइजर बिक्री गरेको थियो । यो कम्पनीको ५ लिटरको सेनिटाइजर ९ सय रुपैयाँ पर्ने फ्लोरोनाको डिलर पशुपति मार्केटिङका सञ्चालक जगदीश रनसरियाले बताए । ‘हामीले खुद्रा पनि ९ सय रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनले भने । मन्त्रालयले पछिल्लो पटक सेनिटाइजर, मास्क, ग्लोब्स, क्लोरिन करिब ४ लाख ५० हजार रुपैयाँको खरिद गरेको छ ।

मन्त्रालयले महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको यो पहिलो पटक होइन । मुलुकमा लकडाउन हुनुअघि प्याकेटको ६ सय ५० रुपैयाँको दरले मास्क खरिद गरेको छ । यसअनुसार एउटा मास्कको मूल्य त्यसबेला १३ रुपैयाँ तिरेको थियो । यही मूल्यमा १५ हजार थान मास्क मन्त्रालयले खरिद गरेको थियो । त्यस्तै जेठ २८ मा १ हजारप्रति केएन मास्क २ सय ७५ का दरले कुशेश्वर इन्टरप्राइजेजसँग खरिद गरिएको थियो ।

स्वास्थ्य सामग्रीको मूल्य हरेक दिनजसो घटिरहेको हुन्छ । मन्त्रालयले असोज र पुसमा मास्क ६ रुपैयाँमा खरिद गरेको थियो । माघमा भने मास्कलाई ७ रुपैयाँ लगाएको छ । त्यस्तै सेनिटाइजर पनि भदौमा ५ लिटरको ३ हजारमा किनेको मन्त्रालयले माघमा ३ हजार ५ सय रुपैयाँ लगाएको छ । ‘बजारमा मास्कको मूल्य घटिरहेका बेला मन्त्रालयले किन महँगोमा खरिद गरेको होला ? कारण सबैले सहजै अनुमान लगाउन सकिन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले खरिद प्रक्रिया पारदर्शी रहेको दाबी गरे । ‘हामीले सार्वजनिक खरिद ऐन प्रक्रिया अपनाएका हुन्छौं । कुनै सामान खरिद गर्न तीनवटा कोटेसन लिन्छौं । सामान खरिद गर्न खरिद इकाइ गठन गरिएको हुन्छ । उसले लागत मूल्य सिफारिस गर्छ,’ उनले भने, ‘पछिल्लो पटक खरिद गरेको स्वास्थ्य सामग्रीमा पनि यही प्रक्रिया अपनाइएकाले पारदर्शी नै छ । यसमा शंका गर्नुपर्दैन ।’ कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्