पोखरेलको प्रश्न - केपी ओलीलाई 'बा' भनेको सहन नसक्ने ?

फोटो - विश्वास खनाल/लोकान्तर

उपप्रधानमन्त्रीसमेत रहेका ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'बा' भनेको सुनेर कतिपय नेताहरूले सहन नसकेको आरोप लगाएका छन् ।

शुक्रवार ओलीनिकट विद्यार्थी समूहले रत्नराज्यलक्ष्मी क्याम्पसमा गरेको भेलालाई सम्बोधन गर्दै पोखरेलले ओलीलाई 'बा' भन्ने कि नभन्ने मुद्दा लिएर नेकपाका केही नेताहरू हिंडेको टिप्पणी गरेका हुन् ।


Advertisement

'ओलीलाई बा भन्छन् अरे,' पोखरेलले प्रश्न गरे, 'यस्तो पनि मुद्दा हुन्छ ? यो बहसको कुरा हो ? सही नसक्नु छ ।'

उनले आदारभावका कारण ओलीलाई 'बा' भन्ने गरिएको जिकिर गरे ।

पोखरेलले ओली ठूलो कुर्चीमा बसेको देखेर प्रचण्ड-नेपाल पक्षका नेताहरूलाई औडाहा भएकोसमेत टिप्पणी गरे ।

'मनमा औडाहा छ, ओली ठूलो कुर्चीमा बसेको छ, हामी सानो कुर्चीमा बस्नुपर्या छ,' पोखरेलले भने ।

ओलीलाई बा भन्दा नरुचाउनेहरू र ठूलो कुर्चीमा बसेको देख्न नसक्नेहरूलाई अहिलेसम्म नेतृत्वमा राखिएको भन्दै पोखरेलले आफूलाई पछुतो रहेको बताए ।

'यस्तो मानसिकता बोक्ने मान्छेहरू पार्टी नेतृत्वमा अहिलेसम्म बसे, अब बस्नु उचित हुँदैन,' पोखरेलको टिप्पणी थियो ।

शुक्रवार आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा पोखरेलसँगै टोपबहादुर रायमाझी र शेरबहादुर तामाङले सम्बोधन गरेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्