
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रचण्ड आइतवार बिहान स्वयं उपस्थित भएका हुन् ।
अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।
'म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला', आदेशमा भनिएको थियो ।
वर्तमान सरकारको नेतृत्वले प्रायोजितरूपमा तयार गरेको रिट निवेदन आफूविरुद्ध दायर भएको जिकिरसहित प्रचण्डले त्यसलाई खारेज गर्न माग गरेका छन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता समीर हायु प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।