
सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले लोकान्तरलाई जानकारी दिए ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो ।
यसअघि गत शुक्रवारको बैठकले नै अधिवेशन आह्वानका लागि सिफारिस गरेको बाहिर चर्चा चलेको थियो ।
संविधानको धारा ९३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको अधिवेशन पुस १८ गते शुरू भएर २७ गते टुंगिएको थियो ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा गत असार १८ गते सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको थियो । संविधानको व्यवस्था अनुसार हिउँदे अधिवेशन शुरू गर्न १३ दिन बाँकी रहेको समयमा पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरिएको थियो ।
प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो ।