२४ असार २०८३, बुधबार

आर्मेनिया : प्रधानमन्त्री भन्छन्– मध्यावधि निर्वाचन गरौं, विपक्षी भन्छन्– राजीनामा देऊ

फागुन १८, २०७७
आर्मेनिया : प्रधानमन्त्री भन्छन्– मध्यावधि निर्वाचन गरौं, विपक्षी भन्छन्– राजीनामा देऊ

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमवार आफ्ना समर्थकहरूलाई संसद् तयार रहेमा राजनीतिक संकट अन्त्य गर्नका लागि मध्यावधि निर्वाचनका लागि तयार रहेको बताएका छन् । 
 

विपक्षीहरूले गत नोभेम्बर महिनादेखि उनको राजीनामा मागिरहेका छन् । उनले अजरबैजानसँग नागोर्नो–काराबाख लडाइँ हारेकोमा विपक्षीहरूले राजीनामा मागेका हुन् । 

अघिल्लो साता प्रधानमन्त्री र वरिष्ठ सैन्य अधिकारीहरूबीचको झगडा सार्वजनिक भएको थियो । 

राजधानी येरेभानको मध्यभागमा रहेको रिपब्लिक स्क्वेयरमा पाशिन्यानका कम्तीमा २० हजार समर्थकहरू सोमवार भेला भएका थिए । 

‘निर्वाचनमा जाऔं र जनताले कसको राजीनामा मागेका छन् हेरौं,’ पाशिन्यानले भने । 

उनले राष्ट्रपतिको शक्ति विस्तार गर्नका लागि अक्टोबर महिनामा संविधानका विषयमा जनमतसंग्रहका लागि आह्वान गर्ने बताए । तर यसको व्याख्या उनले गरेनन् । 

आफूले अजरबैजानसँगको युद्धमा र सेनासँग हालै विवादमा गल्ती गरेको स्वीकारे ।
 

पाशिन्यानले सेनाप्रमुखलाई बर्खास्त गर्दै कूको षड्यन्त्र रचेको आरोप लगाए तर राष्ट्रपतिले उक्त बर्खास्तगी रोके । 

विपक्षी दलका हजारौं विरोधकर्ताहरू सोमवार भेला भएका थिए र प्रधानमन्त्रीको राजीनामा मागे । 

गत नोभेम्बर महिनादेखि प्रदर्शनकारीहरू पाशिन्यानविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यसबेलामा उनले अजरबैजानसँग ६ हप्ता चलेको द्वन्द्व अन्त्यका लागि युद्धविराममा हस्ताक्षर गरेका थिए । उक्त लडाइँमा ४७ सयजनाको मृत्यु भएको थियो र आर्मेनियाले आफ्नो विशाल भूभाग अजरबैजानलाई सुम्पेको थियो । 
 

पाशिन्यान पुनः प्रधानमन्त्री पदका लागि लड्ने हो भने आफूहरूले निर्वाचन बहिष्कार गर्ने विपक्षीहरूले घोषणा गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्