नेपाल जस्तै भुटान पनि दुई विशाल छिमेकी चीन र भारतको बीचमा रहेको भूपरिवेष्ठित मुलुक हो ।
संसारभरि कोरोनाभाइरसले आतंक मच्चाउँदा भुटानमा चाहिँ कोरोनाका जम्मा ८६७ केस देखिए अनि एकजनाको मात्र मृत्यु भयो । उसका छिमेकी चीनमा कोरोना उत्पत्ति भयो अनि अर्को छिमेकी भारतमा एक लाख ५७ हजारभन्दा बढी मानिसको मृत्यु भयो ।
भुटानी राजाले देशको स्वास्थ्य संरचनाको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकोले यो सम्भव भएको भनी विज्ञहरूले औंल्याएका छन् । भुटानको एक्सटर्नल प्रिपेयर्डनेस यान्ड रेस्पोन्स प्रणालीलाई यसको श्रेय जान्छ ।
अनि विश्व स्वास्थ्य संगठनले पनि कोरोना छिटो पत्ता लगाउन, परीक्षण गर्न, ट्रेसिङ गर्न र आइसोलेट गर्न सहयोग गरेको थियो ।
सशस्त्र बल, भन्सार कार्यालय, प्रहरी, नागरिक उड्डयन, स्वास्थ्य अधिकारी तथा स्वयंसेवीहरूले विदेशबाट कोरोना पोजिटिभहरू आए भने के हुन्छ भनी मन्थन गरेका थिए ।
सरकारले कन्ट्याक्ट ट्रेसिङ याप ड्रुक ट्रेस पनि विकसित गरेको थियो । सबै व्यापारिक संस्था, यातायात केन्द्र तथा कार्यालयले यस ट्रेसिङ यापको क्यूआर कोड स्क्यान गर्नैैपर्ने बनाइएको थियो ।
भुटानको स्वास्थ्य मन्त्रालयले पनि ग्येनखु अर्थात् हाम्रो जिम्मेवारी नामक पहल पनि गरेको थियो र त्यसमा अभिनेता, खेलाडी, ब्लगर र कलाकारहरू लगायतका प्रभावशाली मानिस जोडिएका थिए ।
चीन र भारत जस्ता ठूला मुलुकका बीचमा रहेको भए पनि निको हुने उच्च दर कायम राख्नु भुटानको आश्चर्यजनक उपलब्धि हो ।
वान हेल्थ स्ट्राटेजी अपनाएर भुटानले आफूलाई विश्वमै उदाहरणीय बनाएको छ । भुटानी सरकारले वैज्ञानिकहरूलाई विश्वास गर्ने गरेकाले पनि महामारीलाई नियन्त्रणमा लिन सकेको हो । विशाल अर्थतन्त्र, स्रोतसाधन, सेवा र कुल गार्हस्थ्य उत्पादन मात्रै जीवन प्रत्याभूत गर्ने साधन हैनन् भन्ने तथ्य भुटानले प्रमाणित गरेको छ ।