निर्वाचन आयोग पुगेर महेश बस्नेतले भने– अधिकांश नेता एकता पक्षमा छौं, फुटाउन हतार नगरिदिनुस् !

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट युवा नेता एवं सांसद महेश बस्नेत निर्वाचन आयोग पुगेका छन् । बिहीवार आयोग पुगेर बस्नेतले आयुक्तहरूसँग भेटघाट गरेका हुन् ।

उनले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटेर नेकपाका बहुमत सांसदहरू पार्टी एकताको पक्षमा रहेको बताए । 


Advertisement

आयोग स्रोतका अनुसार बस्नेतले थप केही दिनमा नेकपा एक भएर आउने भन्दै पार्टी विभाजनको निर्णयमा हतारो नगर्न आग्रह गरेका थिए । 

'उहाँ (बस्नेत) आउनु भएको थियो, सामान्य अनौपचारिक कुराकानी भयो,' एक आयुक्तले लोकान्तरसँग भने, 'आफूहरू नेकपाको एकता अभियानमा लागेकाले विभाजनको निर्णय गर्न हतारो नगर्न सामान्य आग्रह गर्नुभएको थियो । हामीले कानून र विधि अनुसार गर्छौं भन्यौं । त्यत्ति हो ।'


Advertisement

फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपाको प्रचण्ड-नेपाल पक्ष, नेपाली कांग्रेस र जसपा मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । 

नेकपाका दोस्रो पुस्ताका नेताहरू पार्टीलाई अझै पनि एकताबद्ध बनाएर लैजाने गरी छलफलमा जुटेका बेला बस्नेतले आयोगलाई विभाजनको निर्णयका लागि हतारो नगर्न आग्रह गरेका हुन् । 

आजै सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीनिकट नेता शंकर पोखरेलबीच पार्टी एकताका बारेमा छलफल भएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्