२२ असार २०८३, सोमबार

केपी प्रवृत्तिविरुद्ध लड्दा जेल जान पनि तयार, मर्न पनि तयार : प्रचण्ड

फागुन २७, २०७७
केपी प्रवृत्तिविरुद्ध लड्दा जेल जान पनि तयार, मर्न पनि तयार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, गणतन्त्र, संघीयता नै खतरामा पार्ने गरी देखिएको केपी प्रवृत्तिविरुद्ध लड्दा फेरि जेल जान पनि तयार र मर्न पनि तयार रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यतिबेला देशको परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको बताए ।

‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा जनयुद्धको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । केपी प्रवृत्तिका विरुद्ध जानीबुझी म फेरि जेल जानु परे पनि तयार, मर्नु परेपनि तयार भनेर गरेको हो,’ उनले भने, ‘युद्ध भनेको हिंसा सहितको राजनीति हो । अहिले हामी शान्तिपूर्ण युद्धमा छौं, त्यो युद्ध चलिराखेकै छ । संसद विघटन, संविधान र गणतन्त्र खारेज गर्ने एउटा षड्यन्त्रविरुद्ध हामीले जित्यौं तर वार जितेका छैनौं । अझै पनि परिवर्तनमाथि हमला भइरहेकै छ ।’

प्रचण्डले नयाँ साथी खोज्दा पुराना साथीहरू छुटेका समेत बताए । ‘एउटा अंग्रेजी कविता छ, नयाँ साथी बनाऊ, पुरानोलाई पनि कायमै राखिराख । नयाँ चाँदी हो, पुरानो सुन हो । कविताले पुरानो बढी महत्त्वपूर्ण हुन्छ भन्ने खोजेको हो,’ उनले भने, ‘योसँग मिलेर होला कि, त्यो सँग मिलेर होला कि भनेर धेरै भयो । आफ्नै साथीहरू छुट्दा हामी अलि कमजोर भएजस्तो देखिएको पक्कै हो । अब यसलाई सुधार्छु ।’ 

प्रचण्डले काठमाडौंभन्दा २–४ वर्ष अभियानमा बस्ने विचार बनाएको बताए । ‘देशव्यापी फेरि जनतासँग जोडिनेतिर मैले सोचिराखेको छु, म काठमाडौंभन्दा २–४ वर्ष अभियानमा बस्ने विचार छ । देशका सबै शहर बजार, गाउँका गल्लीगल्लीमा धरातलमा उभिनुपर्ने भएको छ,’ उनले भने, ‘अहिले शान्तिपूर्ण ढंगले नै आफ्नो खुट्टा उभिएर अभियान चलायौं भने प्रतिक्रियावादीलाई परास्त गर्छाैं । नयाँ मान्छे खोज्दा पुराना मान्छे छुटेको पक्कै हो, हामीलाई जसले यहाँसम्म पुर्‍याए, ती छुटे ।’

salt training

कमेन्ट गर्नुहोस्