
प्रधानमन्त्री केपी शर्मा ओलीले विगत ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताएका छन् ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’
प्रधानमन्त्री ओलीले सरकार जनताप्रति बफादार रहेको बताए । ‘यस्तो जनताको सरकार, देशप्रति बफादार सरकार, देशभक्त सरकार, विकासको अभिभारा बोकेको सरकार । यसका निम्ति काम गरिरहेको सरकार,’ ओलीले भने, ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानताका क्षेत्रमा, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको सन्दर्भमा यसले गरेका कामहरू । अथवा समाजमा सरकारको तर्फबाट जनतालाई पुर्याउनुपर्ने सेवा र सुविधा पुर्याउने कामहरू । बाटाघाट, झोलुङ्गेपुल, राजमार्ग, पर्यटनलाई अगाडि बढाउने कुरा । यी सबै कुरा । कृषिको आधुनिकीकरणको सन्दर्भमा गरिएका कामहरू । युगान्तकारी कामहरू यस ३ वर्षमा भएका छन् ।’
पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले थुप्रै काम गरेको बताए । ‘पार्टीमा भोग्नुपरेका बाधा, सरकारमा भोग्नुपरेका बाधा । देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ ओलीले भने ।
सरकारले सही उद्देश्य लिएर कार्यान्वयन गरिरहेको उनले बताए । ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा तोकेका छौं, त्यो उद्देश्य साकार पार्न सही नीति, सही कार्यक्रम, सही योजना र उपयुक्त कार्यान्वयन साथ अघि बढिरहेका छौं । नेपाल अगाडि बढ्ने नै भयो,’ उनले भने, ‘हाम्रो विकासको गतिलाई कोभिडले पनि रोक्न सकेन, खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन् ।’
ओलीले केही दिनमा मेलम्चीको पानी काठमाडौंका धाराधारामा आउने बताए । ‘मेलम्चीको पानी काठमाडौं खसाल्यौं, बागमतीमा बगिरहेको छ, केही दिनमा धाराधारामा पानी बाँड्दैछौं,’ उनले भने, ‘नौबिसे २६ किलोमिटर थियो, अब ४ किलोमिटर हुँदैछ, सुरुङ मार्ग बन्दैछ ।’