
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि कसैले पनि आक्रमण गर्न नसक्ने गरी स्थापित गर्न महिलाको सहभागिताले सहयोग गर्ने बताएका छन् ।
पार्टीको महिला विभागले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको दुई दिने वाग्मती प्रदेशस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एकदलीय सर्वसत्तावाद लाद्न चाहने दलहरुले महिलाको हित नगर्ने बताए । प्रजातन्त्र कसैले खोस्न नसकोस् भनी महिला सङ्गठित हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।
“संसद् बोलाउन पुग्ने सांसदको सङ्ख्यासमेत पार्टीसँग छैन, जति सङ्ख्या भए पनि देशको राजनीतिलाई सही बाटोमा हिँडाउन कांग्रेस लाग्छ, सबै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरेर हामी अघि बढ्छौँ”, उनले भने ।
उपसभापति विलेन्द्र निधिले लिक बाहिर गएको गाडी सही ठाउँमा आएजस्तो प्रतिनिधिसभा पुनःस्थापना भए पनि सिज भएको गाडीको इञ्जिन मर्मत नभएकाले देशमा समस्या देखिएको बताए ।