
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको सदस्य संख्या ४ हजारबाट २ सयमा झर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय सदस्य संख्या २ सयबाट नबढ्ने प्रस्ट पारेका हुन् ।
'नेकपामा माओवादीका तर्फबाट लगिएको केन्द्रीय कमिटी संख्या नै अहिले कायम रहन्छ,' अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले लोकान्तरसँग भने, 'केही थपघट हुन सक्छ, तर मूलभूत रूपमा २ सय नै कायम रहन्छ ।'
एमालेसँग एकीकरण गर्नुभन्दा अघि माओवादीको केन्द्रीय सदस्य संख्या ४ हजारको हाराहारीमा थियो ।
एकीकरणपछि बनेको नेकपाको केन्द्रीय कमिटीमा माओवादीका तर्फबाट २ सयको हाराहारीमा मनोनित गरिएको थियो ।
आजको बैठकमा ७ प्रदेश र तीन विशेष प्रदेश कमिटीका पदाधिकारीहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।
रिपोर्ट प्रस्तुतिका क्रममा एकाध ठाउँमा बाहेक माओवादी केन्द्रको सांगठनिक क्षति नभएको निष्कर्ष निकालिएको चौलागाईंले बताए ।
बैठकमा प्रस्तुत भएका ६ एजेण्डामध्ये पार्टीको नाम फेर्नेबारे पनि एउटा एजेण्डा थियो ।
माओवादी विचारधारमा सहमत नहुने अन्य कम्युनिस्टलाई समेत समेत आकर्षण गनै भन्दै माओवादीमा पार्टीको नाम फेर्ने एजेण्डा आइतवारको बैठकमा पेश भएको थियो ।
नाम फेर्नेबारे एजेण्डामा आइतवार कुनै छलफल भएन । यसपछि बस्ने बैठकमा नाम फेर्नेबारे छलफल हुनेछ ।
सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विविध लगायतका एजेण्डा लिएर बैठक बसेको थियो ।
नेकपा एकता प्रक्रियालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि आइतवार पहिलो पटक माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
२०७५ जेठ ३ मा तत्कालीन एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएको थियो । फागुन २३ गते सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो ।
बैठक सोमवार पुनः बस्नेछ ।