
जिल्ला अस्पताल उदयपुरमा झण्डै १ वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् ।
सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिस्ट व्यवस्थापन नहुँदा अहिलेसम्म जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड रुपैयाँको सहयोगमा अस्पतालमा जडान गरिएका २ वटा भेन्टिलेटर मशिन १ वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् ।
प्रयोगमा नरहेपछि मशिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।
भेन्टिलेटर मशिन सञ्चालन गर्नका लागि छुट्टै एनेस्थेसियोलोजिस्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरूले पटक–पटक प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताए ।