जर्मनीको लाइपजिग शहरमा रहेको प्रोब्सथाइडा जिल्लामा रहेको एक ट्राम स्टपमा ५० वर्षीय एक व्यक्तिले आफ्नो कार भीडमा लगेर जोत्दा दुईजनाको मृत्यु भएको छ ।
घटनामा अन्य केही मानिस घाइते भएका छन् ।
कार ट्राम ट्य्राकमा गएर अड्किएको बताइएको छ ।
घटना स्थानीय समयअनुसार बिहान १० बजेतिर भएको हो ।
प्रहरीका अनुसार, यो जानाजान गरिएको घटना भन्दा पनि दुर्घटना जस्तो देखिन्छ ।
प्रहरी प्रवक्ता होपका अनुसार, कार ट्राफिक लाइटमा ठोकिएको थियो अनि चिप्लिएर १५ मिटर जति फनक्क घुमेर ट्रामको ट्य्राकबेडमा पुगेको हो ।
कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको खास कारण खुलिसकेको छैन ।
घटनापछि उक्त क्षेत्रमा सवारी आवागमन रोकिएको छ ।
राजधानी बर्लिनबाट १६० किलोमिटर दक्षिणपश्चिममा रहेको लाइपजिग स्याक्सोनी राज्यको सबभन्दा बढी जनसंख्या भएको शहर हो ।