०७ असार २०८३, आइतबार

नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरूआत

नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरूआत

माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरूआत गरेको छ ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलमा क्यूआर कोड हस्तान्तरण गरेको छ ।

बुधवार आयोजित छुट्टाछुट्टै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले क्यूआर कोड सेवाको शुरूआत गरे ।

क्यूआर कोड सेवा शुरू भएसँगै नेपालगञ्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यूआर कोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाको रकम समेत क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।  

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्धति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

कमेन्ट गर्नुहोस्