
जिल्ला बजार अनुगमन समितिले कुम्भेश्वर, बङ्गलामुखी र शङ्खमूल क्षेत्रमा गरेको अनुगमनमा मासु व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सो क्षेत्रका स्थानीयवासीको गुनासो बढेसँगै आज भएको अनुगमनमा शङ्खमूलका मस्र्याङ्दी चिकेन सप्लायर्स र चिकेन डेलिभरी एण्ड कोल्ड स्टोर कारबाहीमा परेका हुन् ।
सहायक प्रजिअ ललितकुमार बस्नेतले अनुगमनका क्रममा आवश्यक कागजपत्र माग्दा देखाउन असहयोग गरेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम रु पाँच–पाँच हजार जरिवाना गरिएको बताए। घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका उद्योग अधिकृत भूमिका ओझाले सो क्षेत्रका कतिपय पसल दर्ता नभई सञ्चालन भएकाले छिट्टै व्यवसाय दर्ता गरी सञ्चालन गर्न निर्देशनसमेत दिएको जानकारी गराए ।