
बेलायतमा बस्ने नीता राई दाँतको रोगी छन् । उनलाई दाँत दुख्ने समस्याले पिरोलिरहन्छ ।
बेलायतमा दाँतको उपचार गर्न धेरै महँंगो हुने भएकाले गत वर्ष नेपाल आउँदा उनले दाँतको उपचार गरिन् ।
सुरुमा दाँतका लागि राम्रो र सस्तो भनेर वीर अस्पताल गएकी राई वीरमा एउटा दाँतको उपचार गर्न एक महिनाभन्दा बढी समय लाग्ने भएपछि ओम समाज डेन्टल अस्पताल, कलङ्कीमा गएर तीन दिनमै सम्पूर्ण दाँतको उपचार गराइन् ।
नेपालमा दुईवटा दाँत हाल्ने, आरसीटी गर्नेजस्ता सबै उपचार गर्दा उनको उपचारमा ५० हजार रुपियाँभन्दा माथि लागेन ।
तर त्यही उपचार बेलायतमा कम्तीमा पाँच लाख रुपियाँ लाग्न सक्ने उनको अनुभव छ । यस्तै अस्ट्रेलियामा बसोबास गर्दै आएकी रेस्मा लोहनी पेसाले नर्स हुन् । उनको पनि दुवैतिरको बङ्गरा कीराले खाएर सखाप पारेको छ ।
सानैदेखि अत्यधिक गुलियो पदार्थ तथा चकलेट खाएका कारण उनलाई अहिले दाँतले दुःख दिइरहेको छ । उनी नेपाल आउन पाएकी छैनन् ।
उनले अस्ट्रेलियामै एमएन नर्सिङ अध्ययन सकिन् । उनी पनि नेपाल आउनासाथ दाँतको उपचार गर्ने योजनामा छन् ।
यस्तै अस्ट्रेलियामा दाँतको उपचार महँगो हुने भएकाले उनी पनि नेपालमै आएर उपचार गर्ने सोचमा छन् ।
यी प्रतिनिधि पात्र मात्र हुन् । विदेशको तुलनामा नेपालमा दाँतको उपचार धेरै सस्तो भए पनि नेपालीको आर्थिक सम्पन्नताको तुलनामा अन्य उपचारभन्दा मुख स्वास्थ्य उपचार धेरै महँंगो छ ।
वरिष्ठ दाँत रोग विशेषज्ञ डा. सुवास घिमिरेले सरकारी निकाय नै मुख स्वास्थ्यप्रति उदासीन रहेको बताउनुहुन्छ । स्वास्थ्य मन्त्रालयले मुख स्वास्थ्य दिवसमा कुनै पनि कार्यक्रम नगरेकोप्रति गुनासो गर्दै उहाँले सबैभन्दा महìवपूर्ण मुख स्वास्थ्यमै सरकारको ध्यान नजानु दुःखद भएको बताए ।
उनले नेपालमा मुख स्वास्थ्य (दाँतको उपचार) अन्य मुलुकभन्दा धेरै सस्तो रहेको जानकारी दिँदै नेपालीको आम्दानीको तुलनामा महँंगो भएको बताए । दन्तरोगको सबै उपकरण विदेशबाटै आउने हुँदा अन्य मुलुकको तुलनामा धेरै सस्तो भएको उनको दाबी छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विजरल्यान्डदेखि नेपाली दाँतको उपचारका लागि नेपालमै आउने उनको भनाइ छ ।
डा. घिमिरेका अनुसार नेपालमा ७० प्रतिशत बालबालिकाको दाँतमा कीरा लाग्ने गरेको छ भने ९० प्रतिशत बालबालिकादेखि वृद्धसम्मलाई गिँजाको समस्या छ ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य विभाग प्रमुख डा. प्रकाश बुढाथोकीले यस पटक स्वास्थ्य मन्त्रालयले मुख स्वास्थ्य दिवसमा कुनै कार्यक्रम नगरेको स्वीकार्दै अन्य सङ्घसंस्थाले गरेको कार्यक्रममा समन्वयनात्मक भूमिका निर्वाह गरेको बताए । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।