पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चितवनबाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल शुक्रवारसम्म माधवकुमार नेपाल पक्षका प्रतिबद्ध सदस्य थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा सांसदहरूका तर्फबाट सांसद पोखरेलले नै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफैं उभिएर बहस गरे ।
कानूनी पृष्ठभूमिका सांसद पोखरेलले माधव नेपालको साथ छाड्ने कुरा चितवनको राजनीतिसँग मात्र होइन राष्ट्रिय राजनीतिसँग पनि प्रत्यक्ष सरोकार राख्छ । चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि गृहजिल्ला हो । लामो समय चितवनमा एमाले जिल्ला अध्यक्षको नेतृत्व सम्हालेका र पछिल्ला दुईवटा निर्वाचनमा प्रत्यक्ष निर्वाचित पोखरेलले क्याम्प चेञ्ज गर्ने निर्णय माधव नेपालका लागि अप्रत्यासित र ठूलो क्षति पनि हो ।
माधव नेपाल क्याम्पमा रहेका पोखरेल शनिवार एमाले संसदीय दलको बैठकमा सहभागी भएर पार्टी नेतृत्वलाई सघाउने वचन दिए । गुटगत भेलामा सहभागी भएकोमा प्रायश्चित गरे । पोखरेलले कित्ता परिवर्तन गरेको साइड इफेक्ट प्रचण्डको राजनीतिसम्म पुग्ने सम्भावना छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि बाध्यात्मक रूपमा आ–आफ्नो पार्टीमा फर्केका प्रचण्ड र नेपाल अहिले पनि अघोषित सहकार्यमा रहेको एमालेको संस्थापन पक्ष (अध्यक्ष केपी ओली पक्ष)को आरोप छ ।
यो कुरालाई स्वयं प्रचण्डले मलजल गरिरहेका छन् । बिहीवार सिन्धुली पुगेका प्रचण्डले माधव नेपालहरूले एमालेमा विद्रोह गर्ने र भविष्यमा सहकार्य हुने बताएका थिए । पटक–पटक निर्वाचन क्षेत्र फेर्दै चितवन पुगेका प्रचण्डले एमालेको कुनै पक्षको साथ लिँदा नै चुनाव जित्छन् भन्ने माओवादीको विश्लेषण छ ।
पोखरेलजस्तै दोधारमा कार्यकर्ता, कार्यकर्तामा पहिरो जाने त्रास
संस्थापन पक्ष स्रोतहरूका अनुसार माधव नेपाल क्याम्प छाडेर मूलधारमा फर्किने कृष्णभक्त पोखरेल अपवाद होइनन्, यो क्रम आगामी दिनमा झन तीव्र हुनेछ । शनिवार बसेको केन्द्रीय कमिटी बैठकले समानुपातिक सांसदको सूची हेरफेरको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि सांसद पद जोगाउन बहुसंख्यक समानुपातिक सांसद मूलधारमा फर्किने सम्भावना छ ।
माधव नेपाल समूहमा ४० भन्दा बढी सांसद रहेको विश्लेषण भएको थियो । तर शनिवार ३८ जना सांसदले मात्र ओलीको कार्यशैलीको विरोधमा हस्ताक्षर गरेका छन् । केही सांसदहरू संस्थापन पक्षसँग संवादमा छन् । शनिवार संसदीय दलको बैठकमा ओलीले कुनै गुटसँग सौदाबाजी नगर्ने र व्यक्तिगत हैसियतमा मात्र डिल गर्ने बताएका थिए ।
संस्थापन पक्षले स्पष्टीकरण सोध्दा पनि मात्र ४ जना नेताहरूलाई सोधेको छ । स्पष्टीकरण सोधिएका माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बाहेकका अन्य नेताहरूलाई स्पष्टीकरण नसोधिएकाले मूलधारमा फर्किन्छन् भन्ने ओली पक्षको बुझाइ देखिन्छ ।
एमाले औपचारिक रूपले विभाजन भइसकेको छैन, तर पनि माथिदेखि तलसम्म कार्यकर्ता दुई धारामा विभक्त छन् ।
माधव नेपालको बाध्यता– सूर्य चिह्न र एमाले लिगेसी छाड्न मुस्किल
पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरे पनि स्वयं माधव नेपाल पनि सूर्य चिह्न त्यागेर नयाँ चिह्नबाट चुनाव लड्ने र नयाँ दल खोल्ने मनस्थितिमा छैनन् । पार्टीभित्र आफ्नो ‘उपस्थिति’ देखाउनका लागि मात्र उनले समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । नेकपा जीवित छँदा अध्यक्ष प्रचण्डसँग मिलेर ओलीलाई पार्टी सदस्यबाटै निस्कासन गर्ने निर्णयमा साक्षी बसेका नेपाललाई यत्तिकै घुलमिल गर्न कठिन छ ।
त्यसमाथि फागुन २८ गते अध्यक्ष ओलीले एकपक्षीय ढंगले निर्णय गरेपछि त्यसको आक्रोश व्यक्त गर्न कार्यकर्ता भेला आयोजना गरे । संसदीय दलको बैठक बसेको स्थानलाई लिएर नेता नेपालले विरोध जनाएपछि शनिवार संसदीय दलको बैठक बसिरहेको समयमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेता नेपालले एकताको हात अगाडि बढाउन चाहेको उल्लेख गर्दै भनेका थिए, ‘पुराना कुरा बिर्सन तयार छौं । फ्रेस स्टार्ट गरौं । यो मेरो प्रस्ताव हो । नयाँ ढंगले अगाडि बढौं । केपी कमरेड २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्कनुस् ।’
चैत्र ४ र ५ गते सम्पन्न कार्यकर्ता भेलामा अधिकांश कार्यकर्ताले पार्टीभित्रै संघर्ष गरेर अघि बढ्न आग्रह गरे । अपवाद प्रतिनिधिहरूले नयाँ पार्टी गठन गरेर अघि बढ्न प्रस्ताव गरेपछि त्यो जाँगर नेता नेपालसँग छैन । नेकपा मालेदेखि माओवादीसम्म आइपुग्दा क्षणिक आवेगमा विभाजन भएका पार्टीको अस्तित्व संकटमा परेका कारण नयाँ पार्टी बनाउने हिम्मत नेपालसँग नरहेको ओली खेमाको विश्लेषण छ । उनको योजना पनि त्यो देखिँदैन ।
दुईवटा कम्युनिस्ट पार्टीको औचित्य नभएको भन्दै एमाले र माओवादी केन्द्रले एकता गरेर नेकपा बनाएका थिए ।
यो बेग्लै विषय थियो कि, उनीहरूले सिद्धान्तनिष्ट भएर भन्दा पनि चुनाव लक्षित एकता गरेका थिए ।
‘र्याडिकल फोर्स’को रूपमा पहिचान बनाएको विप्लव नेतृत्वको नेकपा समेत शान्तिपूर्ण राजनीतिमा आइसकेको अवस्थामा नेपालमा नयाँ कम्युनिस्ट पार्टीका लागि न त स्पेस छ न त एजेण्डा नै । ७० को दशकमा लाग्दै गरेका नेपालसँग नयाँ पार्टी बनाउने सौर्य पनि छैन ।
तर कार्यकर्ताको दबाब छ, ओलीसँग नझुक्न । ‘एकअर्काप्रतिको इगोका कारण पनि सहजै मिल्ने अवस्था देखिँदैन,’ नेपाल पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘एमाले फुटाएको अपजस किन लिने भनेर नेताहरू अलमलमा परेको देखिन्छ ।’
ओली–नेपाल वारपारको स्थितिमा
नेकपा एकता भंग गरिदिएर नेकपा एमाले ब्यूँताइदिने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले राहत महशुस गरेका र पार्टीमा ‘कम्फरटेबल’ अवस्थामा रहेका ओली आफूले स्पष्टीकरण सोधेका नेताहरूलाई सहजै स्वीकार्ने मुडमा देखिँदैनन् ।
शनिवार संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका थिए, ‘उहाँहरुले त मलाई अध्यक्षबाट मात्र निस्कासन गरेको हो र ? सदस्यबाटै निस्कासन गरेको हो । धन्न नागरिकता खारेज गरिदिनुभएन !’ स्मरणीय छ, नेकपाको अस्तित्व कायम रहेको समयमा प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई संसदीय दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यबाटै निस्कासन गरेको थियो ।
तर ओलीले कुनैपनि निर्णय परिपक्व ढंगले गरेका छन् । अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाएर महाधिवेशन आयोजक समिति बनाउने फागुन २८ गतेको प्रस्ताव चैत्र ७ गते आएर अनुमोदन भयो । यसबीचमा ओलीले चैत्र २ गते नेपाल समूहसँग पार्टी कार्यालयमा छलफल गरे ।
फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने नेपालको शर्त र फागुन २८ गतेका निर्णयबारे केन्द्रीय कमिटी बैठकमै छलफल गर्ने ओलीको अडानका कारण बैठक फलदायी भएन । २८ गतेको निर्णय फिर्ता लिन ओली राजी भएनन् भने चैत्र ४ र ५ गतेका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित गर्न नेपाल पक्ष सहमत भएन । यसले टकरावलाई उत्कर्षमा पुर्यायो ।
आफ्नो निर्देशनविपरीत नेपाल पक्षले एमालेको ब्यानरमा कार्यकर्ता भेला गरेको घटनापछि ओली कठोर भए र माधव नेपालसँग स्पष्टीकरणको निर्णयमा पुगे ।
‘फागुन २३ गतेसम्मका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, फागुन २३ पछिको अवस्थामा पनि उस्तै गतिविधि स्वीकार्य हुँदैन । कुनै गुटगत भेला नगर्न स्पष्ट निर्देशन हुँदाहुँदै कार्यकर्ता भेला गरियो यो असाध्यै गम्भीर विषय भएकाले स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो,’ शनिवार बालुवाटारमा भएको बैठकबारे एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
१५ वर्षसम्म पार्टीको नेतृत्व गरेका नेता नेपाल अहिले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने कि नदिने अन्यौलमा छन् । ओली पक्ष भने जवाफ हेरेर थप कदम चाल्ने रणनीतिमा छ ।
‘२८ गते चुकुल लगाउनुभएको थियो, ७ गते त पर्खालै लगाइदिनुभयो’
एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित माधव नेपाल पक्षीय नेता युवराज ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि ढोका बन्द गरेको आरोप लगाए ।
‘जुन महाधिवेनशबाट ओली अध्यक्ष र हामी उपाध्यक्षमा विजयी भएका थियौं, बहुमत पदाधिकारीलाई थाह नदिई बैठकको नाममा गुटको भेला गरेर जसरी निर्णय गर्नुभयो यसले चुकुल लगाएर बैठकमा आऊ भनेजस्तै थियो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘हिजो त पार्टी एकता नहोस् भनेर पर्खालै लगाउनुभयो ।’
नेता ज्ञवालीले प्रतिनिधि सभा भंग गरेपछि अधुरो रहेको मिसन पूरा गर्न ओलीले एमालेलाई विभाजन गर्न खोजेको आरोप पनि लगाए ।
‘स्पष्टीकरण दिने कि नदिने भन्दापनि यो कम्युनिष्ट आन्दोलन सिध्याउने खेल हो । एमालेको विधान र कम्युनिष्ट प्रचलनविपरीत हो, माधव नेपाल अप्ठ्यारोमा परे भन्नुभन्दा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजियो भन्ने उचाइबाट यसको विश्लेषण गर्नुपर्छ,’ ज्ञवालीले भने ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...