२४ असार २०८३, बुधबार

व्रतले स्वास्थ्य समस्या हुनसक्छ

चैत १०, २०७७
व्रतले स्वास्थ्य समस्या हुनसक्छ
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् ।

पोषणविद् डा. अरुणा उप्रेतीले धार्मिक महìवका दृष्टिकोणले परम्परागत रूपमा हप्ता वा महिनाको एक दिन व्रत बस्ने चलन रहेको बताउँदै भनिन्, “पहिले तौल घटाउन व्रत बस्दैनथे । आध्यात्मिक रूपमा बस्ने प्रचलन थियो तर खानपिनमा आएको परिवर्तनले मोटोपनको समस्या सिर्जना गरेपछिव्रत बस्ने चलन सुरु भएको पाइन्छ । ”

मध्यम र धनी वर्गले ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्ने गरेको पाइन्छ । उनले गरिब वर्गले यसै पनि खाना कम खाने र शारीरिक अभ्यास धेरै गर्ने भएकाले यो व्रत अपनाउन आवश्यक नै नभएको बताए ।

उनका अनुसार यस्तो व्रत बस्नुअघि वा पछि कुनै पनि पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने योजना बनाउनुपर्दैन । उनले भने, “हामीले खाने सामान्य दाल, भात र तरकारी खाएर पनि यो व्रत बस्न सकिन्छ । विशेषज्ञको सल्लाहबेगर इन्टरमिटेन्ट फास्टिङ गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । ”

उनका अनुसार सबैलाई १६ घण्टाको उपवास अनिवार्य हुँदैन । शरीरको आवश्यकताअनुसार विशेषज्ञको सल्लाहमा व्रत बस्न सकिन्छ ।

‘इन्टरमिटेन्ट फास्टिङ’ सबैका लागि वरदान नहुन सक्नेतर्फ सचेत गराउँदै डा. उप्रेतीले थपिन्, “तरिका मिलाएर यसको अभ्यास गरे फाइदा हुनसक्छ । यस्तो अभ्यास गर्दा यो सँगसँगै अन्य नियमित शारीरिक अभ्यास गर्ने, चिनीको सेवनलाई रोक्ने वा घटाउने, प्रशस्त ताजा फलफूल, सागसब्जी, गेडागुडी, दाल, रेसादार खाना, प्राकृतिक प्रोटिन, प्राकृतिक तेल आदि खाने गर्नुपर्छ । ”

अभिना राजोपाध्यायले आफूखुसी ‘इन्टरमिटेन्ट फास्टिङ’ बसेर अस्पताल नै भर्ना हुनुपरेको नमीठो अनुभव सुनाइन् । मोडलिङमा सक्रिय उनले व्रत बस्ने तरिका नमिल्दा अस्पतालमा तीन दिनसम्म भर्ना हुनुपरेको बताउँदै उपवास अवधिभर केही नखाँदा शारीरिक कमजोरी, पेट दुख्ने, रिङ्गटा लाग्ने भएपछि अस्पताल पुग्नुपरेको बताइन् ।

पोषणविद् डा. रुबी बज्राचार्यले यस्तो खालको व्रतले फाइदा मात्र दिने नभई उचित व्यवस्थापन मिलाउन नसक्दा लामो समयसम्म कमजोरी महसुस हुने, अनिद्रा, वाकवाक लाग्ने, टाउको दुख्ने, अनियन्त्रित भोक लाग्नेजस्ता लक्षण देखिन सक्ने बताइन्। गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्