
पर्साको भन्सार कार्यालयले मंगलवार छाडेको १ करोडभन्दा धेरैको सामान सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मातहतको नम्बर १३ गण हेडक्वार्टर पर्साले बरामद गरेको छ ।
सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१७ अलौबाट भारतीय नम्बर प्लेटको बीआर ०६ जीबी ४१५६ नम्बरको १२ चक्के ट्रकमा धानको बोरामुनि लुकाएर ल्याएकोे १ करोड अर्थात् १ करोड ५ लाख मूल्य बराबरको कपडा बरामद गरेर राजस्व कार्यालयलाई बुझाएको नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति चन्द्रप्रकाश गौतमले बताए ।
भारतबाट धान लिएर नेपाल आउँदै गरेको ट्रकले धानको बोरामुनि कुर्था, सलवार, टप्स, सुटिङका कपडा लगायतका सामानहरू लुकाएको अवस्थामा बरामद गरिएको थियो ।
सशस्त्रले कुर्था सलवार इम्ब्रोइडरी गरेको २ हजार २८६ वटा, कुर्था सलवार इम्ब्रोइडरी नगरेको १ हजार ७८५ वटा, टप्स ३६२ वटा, रेशा साडी ६४९ वटा, लेहङ्गा ३६ वटा, प्लाजो १११ वटा, जाली कपडा १२९ मिटर र सुटिङ कपडा ४ हजार ४५७ मिटर बरामद गरेको थियो ।