भारतीय नम्बरबाट रेशम चौधरीको त्यो फोन ...

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

२०७४ फागुन १२ गते साँझपख भारतीय मोबाइल नम्बरबाट फोन आयो । भारतमा त मेरो कोही साथीभाइ, आफन्त छैनन्, त्यसैले पक्कै यो यति लाखको चिट्ठा पर्‍यो भनेर छक्याउने मान्छेको जालीझेली फोन होला भन्ने ठानेर हंसमुख चेहरा बनाउँदै फोन उठाएँ ।

उताबाट आवाज सुनियो- 'हेलो निशानीजी, म रेशम चौधरी यार । यहाँ नजिकै बोर्डरमा आएको छु । निर्दाेष छु । अब मरे पनि आफ्नै देशमा मर्नुपर्‍यो । अब म नेपाल छिर्नुपर्‍यो, के सल्लाह दिनुहुन्छ ?'


Advertisement

मलाई एकबारको जुनीमा अहिलेसम्म आएको सबैभन्दा खतरनाक फोन यही थियो। यसभन्दा अगाडि पनि हामीबीच संवाद त भैरहेकै थियो तर हामीले संवादको माध्यम अरू नै प्रयोग गरेका थियौं । चौधरी प्रहरीको 'मोस्ट वान्टेडमा' थिए।

एकछिन त म अक्क न बक्क परें ।


Advertisement

चौधरीले मेरो मौनता बुझेर कुरा थपे- 'यसै भएन, उसै भएन सिधै प्रहरीचौकी गइदिऊँ त ? यसै पनि उनीहरूले मलाई खोजिरहेका छन् । म निर्दोष मान्छे, नभागेको भए पहिल्यै मार्थ्यो के तिनीहरूले । पूरै प्लान थियो नि ! म अपराध गरेर भागेको हो र ? हुलमुलमा जिउ जोगाउन पो भागेको हो । अब त केही मत्थर भयो, आउँछु ।  मर्न परे आफ्नै देशको माटोमा मर्छु ।'

उनको कुरा सुनेर के गरौं, कसो गरौं भयो ।  फेरि नेटवर्क पनि खासै राम्रो सुनिएको थिएन । शायद उनी कता जंगलमा थिए । झ्यारझ्यार आइरहेको थियो ।

'तत्कालै त्यसो गर्नु त हुँदैन होला, प्रहरीले तपाईंलाई नाकानाकामा खोजिरहेको छ । देख्निबत्तिकै सिधै टाउकोमा गोली हान्यो भने के गर्नुहुन्छ ? उनीहरूले त मुठभेड भन्छन्, सक्किगयो नि !' सुझाव दिँदै मैले भनें ।

किनकी त्यतिखेर प्रहरीहरू आफ्ना हाकिम र सहकर्मीहरूको निधनले निकै रिसाइरहेका थिए । यो सबै रेशमको कारणले गर्दा हो भन्ने उनीहरूलाई परेको थियो । त्यतिखेर प्रहरीले जघन्य अपराधका आरोपीलाई इन्काउन्टर गरिरहेको थियो।

के गरौं त ? उनले हतास हुँदै प्रश्न गरे ।

मैले भने- 'यसो गर्नुहोस् न रेशमजी, थारू सभासदहरू हुनुहुन्छ नि शान्ता चौधरी, मेटमणि चौधरी, गंगा चौधरीहरू उहाँहरू सरकार निकटको मान्छे पनि हो । उहाँहरूले प्रधानमन्त्रीसँग सिधै कुरा गर्न सक्नुहुन्छ । तपाईंलाई लिन सरकारले नै प्रतिनिधि पठाउन पनि सक्छ नि !'

मैले उनलाई सांसद शान्ता चौधरीको नम्बर दिएँ, र शान्ताजीलाई पनि 'तपाईंलाई भारतबाट फोन आउँछ है' भन्ने सूचना फेसबूकमा दिएँ ।

शान्ता चौधरी र रेशम चौधरीबीच कुराकानी भयो कि भएन थाहा हुन सकेन, तर केहीबेरपछि उनले अलि चर्किँदै फोनमा भने– 'शान्ताहरू थारू भएर के गर्ने यार, डराउँछन्, मलाई कसैको सहयोग छैन । जबर्जस्ती अपराधी सावित गर्न खोजेका छन्। अब के गरौं म ? कति दिन लुकेर जीवनको भिख मागौं त ?'

सम्झेर फोन गरिसकेपछि एउटा शुभचिन्तकको नाताले मैले केही उपाय खोज्नैपर्ने थियो ।

'तपाईंले आफ्नो पार्टीका नेताहरूसँग कुरा गर्नुहोस् न, एकपटक के भन्छन्, केही उपाय दिन्छन् कि !' मैले वैकल्पिक उपाय सुझाएँ ।

'केही उपाय दिँदैनन् यार, उनीहरूले आन्दोलन गराउनबाहेक अरूबेला हामीलाई वास्ता कहाँ गर्छन् त ? म यताबाट चुनाव जितेपनि पछि प्रचण्डको पार्टीमा जाने हो । म पार्टी प्रवेश गर्छु । पछि पनि चुनाव जित्छु । मलाई प्रचण्डको भरोसा छ, अरू कसैको छैन । दिल्लीमा पनि भेट भएको हो । अब म के गरौं ? यो कुरा कसरी हुन्छ प्रचण्डसमक्ष पनि पुर्‍याइदिनुपर्‍यो ।'

यति अपेक्षासहित उनले आफ्नो निष्कर्ष पनि सुनाए– 'तर म आत्मसमर्पण त गर्छु, गर्छु । मरे पनि आफ्नै देशमा मर्छु ।'

उनले देशमै मर्छु भनेर कसम खाइरहँदा मैले सल्लाह दिनुपर्ने मानवीय जिम्मेवारी बोध गरें । तर यसरी आउनुहोस्, आत्मसमर्पण गर्नुहोस् भनेर उक्साउनु हुँदैन, यो राजनीतिक दल, सरकारको विषय हो भन्ने कुरामा म सचेत थिएँ । आत्मसमर्पण गर्दा के उनी सुरक्षित हुन्छन् त ? के उनी संसद् भवनभित्र माननीयको हैसियतले प्रवेश पाउन सक्छन् त भन्ने लागेको थियो ।

केहीबेर सोचेर अर्को विकल्प सुझाएँ–

'यसो गर्नुहोस् रेशमजी, सुन्नुहोस् त प्रहरीकोमा जाँदै नजानुहोस् । अब दुई दिनपछि १२ गते तपाईं अदालतसमक्ष आत्मसमर्पण गर्नुहोस्, तर एकदम होसियारी पूर्वक भेष बदलेर गर्नुहोला । प्रहरीले चाल नपाउने गरी, बरु सेवाग्राही जस्तो लुंगी लगाएर च्यादर ओढेर अदालत जानुहोला । यो दुई दिनमा म यता को-कोसँग हुन्छ कुरा गर्छु । र यो बीचमा तपाईंलाई पनि आफ्नो नेता र अन्य साथीभाइसँग सरसल्लाह गर्ने समय हुन्छ ।'

अदालतमै आत्मसमर्पण गर्ने निष्कर्षसहित रेशम चौधरीसँगको करीब २० मिनेटको संवाद सकियो ।

फोन राखेपछि मेरो मनमा अनेक कुरा खेले । उनले आत्मसमर्पण गर्ने कुरा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो च्यानलमार्फत जानकारी गराएँ ।

त्यसअघि पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री रहेको समयमा पनि पटक-पटक बालुवाटार गएर चौधरीको केशमा सरकारले निर्णय गर्नुपर्ने बताइरहेको थिएँ । रेशम चौधरीलाई अन्याय भएको तर अहिले आफूले केही गर्न सक्ने स्थिति नभएको बाबुरामको भनाइ थियो । विस्तारै वातावरण बनाएर सबै कुरा हल गर्ने प्रचण्डको आश्वासन थियो । अन्य नेतासँग शायद रेशम आफैंको पनि सम्पर्क, संवाद भएको हुनुपर्छ ।

रेशमले निर्वाचनमा भाग लिनुअगाडि पनि विभिन्न समयमा भारतबाटै मसँग निरन्तर संवाद गरिरहेका थिए । निर्वाचनका लागि भोट माग्न भिडियो सन्देश बनाएको कुरा गर्थे । उनले दिल्लीको सडकमा बसेर म:म खाएर जीवन पालेका थिए भने रेष्टुरेन्टमा भाँडा माझेर आफ्नो खर्च जोहो गरेको बताउँथे । त्यतिखेर उनले सदैव आफू र टीकापुर घटनाका आरोपितहरू निर्दोष रहेको पनि बताइरहे ।

अन्तत: देशभित्रै मर्ने र जेसुकै परेपनि एक दिन न्याय पाउने चाहना अनुरूप उनले २०७७ साल फागुन १४ गते दिउँसो २:५० बजेको आसपासमा उनकै योजना र चाहना अनुरूप जिल्ला अदालत कैलालीसमक्ष आत्मसमर्पण गरे । सामाजिक सञ्जालमा समाचार फैलियो । उनी अदालतमा आत्मसमर्पण गर्न पुगेको कुरा गेटमा ड्यूटीमा रहेका प्रहरीहरूले समेत चाल पाउन सकेनन् ।

एकातर्फ रेशम चौधरीलाई टीकापुरमा थरूहट आन्दोलनमा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्ट वाण्टेड’को सूचीमा राखिएको थियो भने अर्कातिर तिनै आरोपी चौधरीले वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। कैलाली क्षेत्र नम्बर १ बाट उनले २१ हजारको भारी मतान्तर विजय हात पारेका थिए ।

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सांसदको लोगो देखाउँदै रेशम चौधरी

पहिले उनी टीकापुर काण्डका एक फरार अभियुक्त थिए, आत्मसमर्पणपश्चात भने उनको परिचय फेरिएको थियो । नेपाली इतिहासमा यस्ता परिचय बिरलै निर्माण भएको पाइन्छ ।

उनको आत्मसमर्पणपश्चात संघीय संसद्को अधिवेशन आउन सात दिन बाँकी रहँदा रेशमले आत्मसमर्पण गरेको भनेर कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले टिप्पणी गरेका थिए । तर वास्तवमा रेशम भने अब मरे पनि मेरो देशमै मर्छु, अपराधी जसरी लुकेर बस्दिनँ, जनताको काखमा जान्छु, पशुपतिनाथले न्याय दिनेछन् भन्दै अदालत पुगेका थिए ।

आत्मसमर्पणपश्चात धेरैको ध्यान उनी निर्दोष छन् कि दोषी भन्नेतिर गएन। मिडिया होस् वा नागरिक समाज सबैमा एकजना अपराधीलाई सांसद्को रूपमा शपथ खुवाउन हुँदैन भन्ने अभिमत देखिएको थियो जबकि टीकापुर घटना राजनीतिक आन्दोलन थियो । त्यो आन्दोलन राजनीतिक प्रकृतिका मागकै लागि थियो, अन्यथा एउटा अपराधीले वारेसनामामार्फत उम्मेदवारी दिएर भूमिगत रूपमा पनि कतै चुनाव जित्छ र ? चुनाव जित्न ठूल्ठूला नेताले समेत कति खर्च र कति मेहनत गर्छन् भन्ने हामीले देखेकै हो ।

डिल्लीबजार कारागारमा होस् वा अस्पतालको शय्यामा उनलाई भेट्न जाँदा उनको एउटै भनाइ हुन्थ्यो, 'मलाई फसाइयो । टीकापुर काण्डमा मेरो कुनै हात छैन ।'

भर्खरै भारतमा ४० वर्ष विनाकारण जेल बसेर इलामका दुर्गाप्रसाद तिम्सिना स्वदेश फर्किएका छन् । ६१ वर्षीय तिम्सिनाको कहानी पढे सबै प्रस्ट भैहाल्छ ।

संसारमा यस्ता घटना धेरै छन् । राजनीतिक कोपभाजनमा परेर रेशम चौधरीको हालत त्यस्तै नहोस् भन्ने कुरा सोच्नु आवश्यक छ ।

'कमरेड क्लाउड'को त्यो कदम

हालैको एउटा फोटोमा कमरेड क्लाउड (गृहमन्त्री रामबहादुर थापा 'बादल') माइतीघर मण्डलामा पुगेर जनयुद्धकालीन झल्को दिनेगरी एकहाते ठुटे माइक बोकेर केही गम्भीर कुरा भन्न खोजिरहेको देखिएको छ । शायद थारूहरूको भावना बुझेर वा केपी ओलीको आदेश मानेर वा जुन उद्देश्यका साथ उनले 'हामी यहाँ छौं' को झल्को दिनेगरी चिसो भुइँमा बस्ने हिम्मत गरेका छन्, विषयवस्तुको दृष्टिकोणले सम्मान गर्न लायक नै छ । हो यसरी राज्य त्यही उत्पीडित वर्गको साथमा हुनुपर्छ, हुनुपर्थ्यो ।

विगतमा रेशम चौधरी निर्दोष छन् भनेर लेख्दा 'यो मगर पागल भयो, यसलाई पाटन अस्पताल लगेर उपचार गर्नुपर्छ, बरू पैसा हामी दिन्छौं' भन्ने धेरै थिए । आजभोलि तिनै मानिसहरू जसपाको सबै शर्त मानेर महान राजनेता केपी ओलीको सरकार जोगाउनुपर्छ भनेको सुन्दा ब्लड प्रेसर चलमलाउन थालेको अनुभूति हुन्छ । यसकारण कुनै पार्टीको हनुमान वा दास मात्रै हुनु र समग्ररूपमा न्याय र समानताको निम्ति आवाज उठाउनु प्रवृत्तिको दृष्टिले चेतना र सामजशास्त्रीय दृष्टिले पनि फरक पर्ने रहेछ ।

टीकापुरका स्थानीयको मनोभावना बुझ्ने हो भने रेशम चौधरी गीत–संगीतमा रुचि राख्ने एक देशभक्त युवा हुन् । उनले देशप्रेमका दर्जनौं गीत लेखेका छन् । भलै ती गीतहरू उनको समुदायमा मात्रै चर्चित छन् । उनी काठमाडौंको मान्छे हैनन्, देहातको मान्छे हुन् । थरूहट-मधेश आन्दोलनले रेशम चौधरी जस्ता हजारौं युवाको भविष्य उजाड बनाइदिएको छ । टीकापुरका बस्तीहरू उजाड बनाइदिएको छ, किनकी आन्दोलनपश्चात महन्त ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवहरू विजेताको भावमा काठमाडौं आए । तर रेशम चौधरीलयागत सयौं युवा/युवाती रातिराति भागेर दिल्ली जानुपर्‍यो ।

प्रहरी र केही मानिसहरू मरेको कुरालाई प्रमुख बनाइयो । भावनात्मक रूपमा त्यो सही पनि हो। तर त्यहाँका बस्तीमा एक प्रकारको 'जेनोसाइड' प्रयास गरिएको कसैले देखेनन् । कैयौं अपांग छन्, अहिले पनि । घरमा आगो लगाइएको छ, कुखुरादेखि खसीसम्म चोरिएको छ । त्यहाँ टीकापुरमा शहीद भएमा परिवारलाई ५० लाख दिने भनेर उत्तेजित भाषण गर्ने को थिए ? कतिजाना यादव, महतो र ठाकुरहरू मारिए ?

टीकापुर काण्डका बारेमा एकलौटी समाचारहरू बाहिर आइसकेका छन् । रेशम चौधरीको अनुहार एउटा अपराधीको छायाँचित्र बनेर लोकवासीको नजरमा स्थापित भइसकेको छ । तर ती सबै कुराहरू टीकापुरवासीका लागि एउटा कुनै सत्य युग र कुनै सोभियत संघको भुत नाचेको दन्त्यकथा जस्तै भएको छ ।

काठमाडौंले बोलेको कुरा टीकापुर पत्याउन तयार छैन, टीकापुरको दु:ख काठमाडौं सहन रुचि राख्दैन । रेशम चौधरीलाई कुनै हलिउड चलचित्रमा देखिने हतियारधारी भिलेन जस्तो बुझिएको छ, तर टीकापुरका लागि चौधरी नाच्न गाउन रुचि राख्ने एक देशभक्त थारूको छोराका रूपमा सधैँ रहिरहने छन् ।

वि.सं २०७२ भदौ २७ मा थरूहट आन्दोलन चर्किंदै गयो । आन्दोलनको केन्द्रबिन्दुमा टीकापुर रहँदै आयो । जसरी पनि आन्दोलनलाई दबाउने उद्देश्यका साथ सुरक्षाकर्मीबाट ताकेरै टाउकोमा गोली हान्ने काम भयो । आफ्ना कमान्डर र सहकर्मीको मृत्यु भएको पीडामा सुरक्षाकर्मीहरूले सामन्य मानवीय कुराको ख्याल पनि नगरी जेनोसाइडकै शैलीमा बस्ती जलाउने, युवालाई कुटपिट गर्ने, कुखुरा बाख्रा मारिदिने, युवतीहरूलाई दुर्व्यवहार गर्ने काम भयो । टीकापुरको यो दु:ख काठमाडौंले कहिल्यै बुझेन । प्रतिवेदनमा लेखिएन । मूलधारको मिडियामा आएन । यहाँ त थरूहट आन्दोलनलाई राजनीतिक विषय नै मानिएको छैन ।

के नेपालको राजनीतिक आन्दोलनमा सुरक्षाकर्मीको निधन भएको थरूहट आन्दोलन नै पहिलो घटना हो त ? हालसालै शान्ति प्रकियामा आएको भनिएका विप्लव नेकपाका तर्फबाट पनि व्यक्ति हत्या भएको हैन र ? ल २००७ सालदेखि यताको आन्दोलनहरूमा कुनचाहिँ आन्दोलनमा क्षति भएको छैन । अघोषित भनिएको नाकाबान्दीकै समयमा पनि मानिसहरू रुखको आँपजस्तै खसेका छन् भनियो । के ती भन्नेहरू जेलमा छन् त ? गणतान्त्रिक आन्दोलनमा, माओवादी युद्धमा र अखण्ड सुदूरपश्चिम मागेको नितान्त सामान्य आन्दोलनमा समेत कति धेरै मानिसहरू मरे, तर त सबै राजनीतिक भए, थरूहट आन्दोलन कसरी हिंसात्मक बनाइयो ?

थरूहट आन्दोलन केही वर्ग र विचारधाराका मानिसहरूले भने जस्तै कुनै साम्प्रदायिक आन्दोलन थिएन । यो कुनै सुनियोजित रिसइवीपूर्ण घटना पनि थिएन । त्यो केबल ठाकुरजी, यादवजीहरूको योजनामा भएको राजनीतिक आन्दोलन थियो । सम्भवत: अहिले मूलधारमा रहेका सम्पूर्ण नेताहरू कुनै न कुनै आन्दोलनमार्फत माथि उठेका छन् । अरूले गरे त्यो राजनीतिक आन्दोलन हुने यो चाहिँ आपराधिक आन्दोलन हुने ?

यतिबेला सत्ताका लागि रेशम चौधरीको नाममा मधेसकेन्द्रित पार्टी र केपी ओली सरकारबीच बार्गेनिङ भइरहँदा थारू कल्याणकारिणी सभा थरूहट र थारूवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले यही आइतबार माइतीघर मण्डलमा रेशम चौधरी लगायत अन्य अभियुक्तमाथिको झूटा मुद्दा खारेज हुनुपर्ने भन्दै प्रदर्शन गरेको छ । कुनै समयमा आफूले नै कार्यक्रम गर्न प्रतिबन्ध लगाएको मण्डलामा पुगेर मिस्टर क्लाउडले भावुक सम्बोधन गरेका छन्। 'मतलब तपाईंहरू अन्यायमा हुनुहुन्छ, हाँ चाइने हामी रेशमको पक्षमा सकरात्मक छौं हाँ' भनेका छन् ।

यसबीचमा शुक्रवार प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने सांसद महेश बस्नेतले पनि जेलमा पुगेर रेशम चौधरीलाई भेटेका छन् । यसपालि पक्कै वर्षाद हुँदैछ ।

पशुपतिनाथ विराजमान भएको देशमा रेशमले न्याय कसो नपाउलान् र ?

(यी लेखकका निजी विचार हुन् ।)

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्