२२ असार २०८३, सोमबार

नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा गर्न संसदीय समितिको निर्देशन

नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा गर्न संसदीय समितिको निर्देशन
फाइल फोटो

संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयभित्र सम्पन्न हुनेगरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रवार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरू गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्व तयारी विना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पूरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरू गर्न निर्देशन दिएको हो ।

समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरूको होडिङ बोर्ड लगायतका डकुमेन्टहरू अंग्रेजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकका निर्णयहरू सुनाउँदै समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्- ‘पूर्वपश्चिम राजमार्ग नेपालको लाइफलाइन भएको र यस राजमार्गबाट ठूलो मात्रामा यात्रुहरू आवतजावत गर्ने भएको हुँदा यस खण्डअन्तर्गत पर्ने निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम पूर्वतयारी विना अगाडि बढाइएको तथा न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकोले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरूले अनावश्यक रूपमा सास्ती व्यहोर्नु परिरहेकाले गुणस्तरीय रूपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडि बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । नेपालमा सञ्चालन हुने गरेका कतिपय सडक आयोजना तथा अन्य भौतिक पूर्वाधारका आयोजनाहरूको होर्डिङ बोर्ड तथा त्यस्ता आयोजनाहरूको बारेमा लेखिएका डकुमेन्टहरूमा अंग्रेजी भाषा परेको पाइएको हुँदा आयोजनाका बारेमा लेखिएका डकुमेन्टहरू आम नागरिकले स्पष्ट बुझ्ने गरी नेपाली भाषामा पनि लेख्ने व्यवस्था गर्न/गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरूसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्