२८ असार २०८३, आइतबार

जोशीको निधनमा कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

जोशीको निधनमा कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिवार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको हो ।

कांग्रेसले चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने भएको हो ।

यस्तै उक्त दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने, चैत १७ गते मंगलवारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रवार राति निधन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशी नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय बिताएका थिए ।

 कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत प्रकट गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्