
हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान शुरू भएको छ ।
जनस्वास्थ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा शुक्रवार आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा. चुमनलाल दासले सामूहिक रूपमा औषधि खाई अभियानको शुभारम्भ गरे ।
ट्राफिक चोकमा रहेको स्वास्थ्य केन्द्रमा औषधि खाने मानिसको उल्लेखनीय सहभागिताले केही समय तछाडमछाडको स्थिति पनि देखियो ।
हात्तीपाइले विरुद्धको यो अभियान १० औं चरणको हो । छैठौंपटकमा सकिने अभियान सबै मानिसहरूले औषधि नखाँदा अभियान लम्बिएको स्वास्थ्य कार्यालयका प्रवक्ता धरनीधर निरौलाले जानकारी दिए ।
यसपटक सबै जनाले खाएको सुनिश्चित नभएसम्म औषधि खुवाउने अभियान जारी रहने र सम्भवतः चैत मसान्तसम्ममा सबै नागरिकलाई औषधि सेवन गराइसक्ने प्रवक्ता निरौलाले बताए ।
२ वर्षदेखि ५ वर्षकाले १ चक्की, ६ देखि १४ वर्षकाले २ चक्की तथा १५ वर्ष माथिकाले ३ चक्कीसहित जुकाको १ चक्की खानुपर्ने र यो रोगको संक्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुःखने र रिङ्गटाले लक्षण देखिने प्रवक्ता निरौलाले बताए ।
उनका अनुसार मोरङमा ९ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन ५ हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । मोरङको मझारे, दादरबैरिया र जहदामा अझै पनि हात्तीपाइले रोगी भेट्टिएको बताइएको छ ।