२१ जेठ २०८३, बिहीबार

रथ निर्माणमा जुटे स्थानीय

चैत २१, २०७७
रथ निर्माणमा जुटे स्थानीय
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

ऐतिहासिक तथा सांस्कृतिक महìव बोकेको भक्तपुरको बिस्काः (बिस्केट) जात्राको रथ निर्माणमा स्थानीय जुटेका छन् ।

अहिले भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँच तले मन्दिर अगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माण भइरहेको छ ।

यो रथ ३५ फिट अग्लो तीन तले प्यागोडा शैलीमा निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिए । रथमा १० फिट अग्ला चारवटा पाङ्ग्रा हुनेछन् ।

नाइके शिल्पकारले भने, “यस वर्ष पाङ्ग्रा, गल, पोल्ह (छाना) र बाहिर देखिने अधिकांश सामान सबै नयाँ छन् ।’ चैत २८ गते सुरु हुने जात्राका लागि अहिले तयार गर्नुपर्ने बताउँदै उनले भैरवको बाहिरी ढाँचा तयार भइसकेको जानकारी दिए ।

परम्परागत शैलीमा बनाइने भैरवनाथको रथमा आधुनिक किलाको प्रयोग नहुने रथ निर्माणमा सहयोग गरिरहनुभएका मोहित ख्वाखःले बताए । नाइके शिल्पकारले किलालगायतका आधुनिक सामग्री प्रयोग गरिए रथ बलियो नहुने दाबी गरे ।

भैरवनाथको रथलाई मोटो डोरीको सहायताले दुवैतिरबाट तानिन्छ । रथलाई आ–आफ्नो टोलतिर लैजान प्रतिस्पर्धा हुने भएकाले रथ बलियो हुनुपर्छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ र चार दिन पछिसम्म चल्छ ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख आनन्द कर्माचार्यले भने, “यो जात्रा नयाँ वर्षको चार दिनअघि र चार दिनपछि गरेर नौ दिन आठ रात मनाउने प्रचलन छ ।” जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिए ।

यो वर्ष भैरवनाथको रथ चैत २८ गते तानिने भएको छ । जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे र सिन्धुपाल्चोकदेखि मानिस भक्तपुर आइपुग्छन् । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्