०७ असार २०८३, आइतबार

तेह्रौं शताब्दीको टुँडालसहितका सम्पदा नेपाल फर्काइँदै

चैत २१, २०७७
तेह्रौं शताब्दीको टुँडालसहितका सम्पदा नेपाल फर्काइँदै

 तेह्रौं शताब्दी आसपासका प्राचीन नेपाली सम्पदा अमेरिकाको न्युयोर्कमा भेटिएको चार वर्षपछि अदालती प्रक्रियाबाट ‘उत्पत्ति र आधिकारिकता’ प्रमाणित गरेर चाँडै घर फर्काइने भएको छ । नेपालसहितका मुलुकबाट चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन सम्पदा भारतीय मूलका एक अन्तर्राष्ट्रिय व्यापारीको संग्रहमा पाइएको थियो ।

त्यसबारे अनुसन्धान र कानुनी प्रक्रिया अवलम्बन गर्दै न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालका सम्पदा फर्काउने भएको हो । पन्ध्रौं–सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश, चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूमिस्पर्श मुद्राका बुद्ध र १३ औं शताब्दीको काठमा कुँदिएको अप्सरा आकृतिको सम्पदा नेपाललाई हस्तान्तरण गरिएको छ । न्युयोर्कमा बिहीबार आयोजित कार्यक्रममा न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्युयोर्कका जिल्ला न्यायाधिवक्ता साइरस भान्स जुनियरले यी सम्पदा नेपाललाई हस्तान्तरण गरिएको सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘हाम्रो सम्पदा अमेरिकाको गृह मन्त्रालयअन्तर्गत सुरक्षा निकायले फेला पारेको र यसको उत्पत्तिको पहिचानबारे अदालती कारबाही अघि बढिरहेको सूचना केही महिनाअघि पाएका थियौं,’ न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत गौतमले कान्तिपुरसँग फोनमा भने, ‘आधिकारिकता पुष्टि भएपछि यी सम्पदा अहिले न्यायाधिवक्ता कार्यालयले हाम्रो जिम्मा लगाएको छ, अब केही प्रक्रिया पूरा हुनासाथै डिप्लोम्याटिक कार्गोमा काठमाडौं पठाइनेछ ।’

न्युयोर्क, म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सुवास कपुर नामका व्यक्तिको संग्रहमा २५ सयभन्दा बढी प्राचीन सम्पदा र पुरातात्त्विक संग्रह पाइएकामा गत सातामात्रै अनुसन्धान पूरा भएर केही सम्पदा श्रीलंका र इजिप्ट फिर्ता पठाइएको थियो । चोरिएका, लुटिएका वा तस्करी गरिएका यस्ता सांस्कृतिक सम्पदाको ‘उत्पत्ति आधार र प्रामाणिकता’ पहिल्याउन कानुनी प्रक्रियामै वर्षौं लाग्ने गर्छ । यस पटक चार वर्ष लामो अदालती प्रक्रियाबाट नेपालका सम्पदा फर्काउन लागिएको हो ।

सन् १९७० को युनेस्को अभिसन्धिअनुसार हराएका वा चोरिएका यस्ता सांस्कृतिक सम्पदा भेटिएमा ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान भएकाले पनि सम्पदा फर्कने अवस्था आएको हो । नेपाल र अमेरिका उक्त अभिसन्धिका हस्ताक्षरकर्ता हुन् ।

युनेस्को कन्भेन्सनसहित सम्पदाको ‘ओरिजिन’ बारेमा भएका अन्तर्राष्ट्रिय अभिसन्धिले यस्ता सम्पदामाथिको अधिकार र आधिकारिकता निर्धारण गरेको छ । ‘उत्पत्तिको मुलुक’ प्रमाणित हुनासाथ घर फर्काउनैपर्ने प्रावधानमा सन् २००७ यता अमेरिकाले नेपाली मूर्ति फर्काउन निकै सहयोग गर्दै आएको छ,’ कार्यवाहक महावाणिज्यदूत गौतम भन्छन्, ‘यी मूर्ति र टुँडाल चित्र नेपालको कुन मठ–मन्दिर वा बिन्दुबाट लगिएको हो भन्ने ‘ओरिजिन’ पहिचान गर्ने काम पुरातत्त्व विभागले गरिरहेको छ । डेढ महिनाअघि नै यी सम्पदाको तस्बिर र पाएसम्मको ‘डिटेल’ हामीले परराष्ट्र मन्त्रालयमा पठाइसकेका छौं ।’

यी नेपाली सम्पदा कहिले र कसरी तस्करी गर्दै अमेरिका लगियो भन्ने भने खुलाइएको छैन । विज्ञहरूका अनुसार अहिले न्युयोर्कमा फेला परेका मूर्ति र टुँडाल सन् ८० को दशकमै नेपालबाट हराएका हुन् । उच्च स्रोतका अनुसार यसरी प्राचीन महत्त्वका सम्पदाको तस्करीमा संलग्न गिरोहलाई सजायको दायरामा ल्याउनु अनिवार्य सर्त भएकाले हाल दक्षिण भारतमा रहेका भनिएका सुवास कपुरसहितको समूहलाई सुपुर्दगी गरिदिन अमेरिकाले भारतलाई हालै पत्र लेखिसकेको छ । न्युयोर्कमा सुरक्षा निकायले यही समूहका केही सदस्यलाई पक्राउ गरेपछि गिरोहको ‘नेटवर्क’ बारे प्रारम्भिक सूचना प्रहरीले बाहिर ल्याएको हो ।

अहिले पाइएका तीनमध्ये टुँडाल चित्र ‘अप्सरा’ न्युयोर्कस्थित क्रिस्टिज ग्यालरीबाट, गणेशको मूर्ति चेन्नईबाट न्युयोर्क ल्याइँदाको स्थिति र सुनको आसनमा बसेको बुद्धमूर्ति तस्करी गर्दै गरेको अवस्थामा न्युयोर्कमै प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्