इजरायलले आधुनिक राडार र हतियार प्रणालीयुक्त महाशक्तिशाली जासूसी विमान बनाएको छ ।
यसको सहायताले इजरायल चौबीसै घन्टा आफ्ना शत्रुहरूमाथि नजर राख्न सक्छ अनि आकाशमै पनि उनीहरूको उद्देश्यका बारेमा जानकारी पाउन सक्छ ।
यस जासूसी विमानको नाम ओरोन राखिएको छ । यसले इजरायललाई अभूतपूर्व गोप्य जानकारी दिनुका साथै उसको निगरानी तथा खोजी क्षमतालाई पनि बढाउनेछ ।
यस अत्याधुनिक विमानलाई औपचारिक रूपमा इजरायलको वायुसेना कमान्डर मेजर जनरल एमिकम नोरकिनले एक समारोहमा सार्वजनिक गरेका हुन् । यसलाई वायुसेनाको १२२औं स्क्वाड्रनमा संलग्न गरिएको छ । उक्त स्क्वाड्रनलाई आईएसआर भनी चिनिन्छ जसको अर्थ इन्टेलिजेन्स, सर्भेलान्स र रिकोनेसाँ हो ।
इजरायलसँग शावित र ईटाम नामक जासूसी विमान छँदैछन् । अब ओरोन पनि त्यसमा समावेश भएपछि उसको वायुसेवाको क्षमता झनै बढेर गएको छ ।
इजरायली वायुसेनाका अधिकारीहरूका अनुसार, यस विमानमा एउटै प्ल्याटफर्ममा एरियल इमेजिङ, कन्ट्रोल यान्ड राडार र जलसेनाका लागि म्यारिटाइम इन्टेलिजेन्स ग्यादरिङ जस्ता काम गर्न सकिन्छ । यस विमानमा रहेको कन्ट्रोल यान्ड कमान्ड सेन्टरले डेटालाई आफैं विश्लेषण गरेर स्थल तथा वायु केन्द्रहरूलाई सतर्क गराउन सक्छ ।