
स्पेनी फूटबल लीग ला लिगामा अग्रता लिइरहेको एट्लेटिको मड्रिडले सेभियासँग हार बेहोरेपछि लीग रोमाञ्चक मोडमा आइपुगेको छ ।
मार्कोस अकुनाले हेडरमार्फत गोल गर्दै सेभियालाई जीत दिलाएका हुन् ।
यस सीजनभरि आरामदायी अग्रता कायम गरेको एट्लेटिको पछिल्ला केही खेलमा कमजोर बनेपछि दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँग तीन अंकको मात्र दूरी छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको बार्सिलोनाले यी दुई क्लबभन्दा एक खेल कम खेलेर ६२ अंक ल्याएको छ ।
सन् २०१४ पछि पहिलोपटक लीग उपाधिका लागि प्रयास गरिरहेको एट्लेटिकोसँग अग्रता कायम राख्ने चुनौती छ । लीगमा अझै नौ खेल बाँकी छन् ।
सोमवार भायादोलिदविरुद्धको खेल जितेमा बार्सिलोना एट्लेटिकोभन्दा एक अंकमुनि रही दोस्रो स्थानमा पुग्नेछ ।