०२ असार २०८३, मंगलबार

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने देखेपछि प्रदेशसभा अधिवेशन अन्त्य

चैत २३, २०७७
सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने देखेपछि प्रदेशसभा अधिवेशन अन्त्य

नयाँ सरकार गठनका लागि सत्ताइतर राजनीतिक दलहरू एकजुट भएपछि सरकारले ६ दिनमै हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारले भोलि मंगलवार राति १२ बजेदेखि प्रदेशको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 

गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएपछि स्थगित भएको प्रदेशको हिउँदे अधिवेशन चैत १८ गतेदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुरू भएको थियो । 

प्रवक्ता चौधरीले भने, ‘बैठक बसेर मात्र के गर्नु ? बिजनेश पनि छैन । त्यसैले अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको हो ।’

चौधरीले सरकार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘केही मन्त्रालयको पर्फर्मेन्स राम्रो नभएपछि मन्त्रालय थप गरी जिम्मेवारी हेरफेर गर्ने निचोडमा सरकार पुगेको छ । केही दिनमा त्यसको संकेत आउँछ ।’ 

नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी हस्ताक्षर संकलनमा जुटेका छन् । एमाले प्रवेश गरेका २ सांसदलाई कारवाही गर्ने तयारीसँगै लुम्बिनीमा नयाँ सरकारको शुरू भएको छ । ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । 

जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक सन्तोष पाण्डेयले नयाँ सरकार गठनका लागि सत्ताइतर शक्तिहरू छलफलमा जुटेको जानकारी दिए । उनले भने, ‘हामी निरन्तर छलफलमै छौं । निचोडमा पुगेका छनौं । अब प्रदेशका केही नयाँ संकेत देखिन्छ ।’

लुम्बिनी प्रदेशमा पनि ‘किङमेकर’ जनता समाजवादी छ । जसपा सत्तापक्ष र प्रतिपक्ष दुवैको तानातानमा छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै २ जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् । माओवादीका २ जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेश सभामा दर्ता गरिसकेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आफूहरू छलफलमा जुटेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्