
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानाङ्गको चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।
सभापति देउवाले सोमवार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । सभापति देउवाले पार्टी संगठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गरेको योगदान सदा स्मरणीय रहने उल्लेख गरे ।
स्व. प्रधानाङ्ग विक्रम संवत् २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रियसभाको सदस्य र विक्रम संवत् २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए । विक्रम संवत् २०१७ सालमा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको संघर्षका क्रममा उनी पक्राउ परी करीब १ वर्ष जेल जीवनसमेत व्यतित गरेका पार्टी कार्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन समेत गरेका स्व प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका थिए ।
सभापति देउवाले सोमवार नै कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक ताप्लेजुङका पूर्व सभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । उनको चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विक्रम संवत् २०३६ सालमा कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङको सचिव रहेका स्व. राईले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका पार्टी कार्यालयले जनाएको छ । विक्रम संवत् २००४ सालमा जन्मेका स्व. राईका ४ छोरा र २ छोरी छन् ।