
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका २ मन्त्री थिए ।
बुधवार बसेको गण्डकी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारको विरोध गर्नु अनैतिक हुने भएकाले सरकारबाट बाहिरिएको बताए ।
‘हाम्रो पार्टीको संसदीय दलको बैठकले प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा गर्ने निर्णय गरेकाले हामी दुवै मन्त्री म र भूमि व्यवस्था मन्त्री लेखबहादुर थापा मगरले मुख्यमन्त्रीकोमा पुगेर राजीनामा पत्र बुझाएका छौं,’ चुमानले भने ।
नेता चुमानले प्रदेश सभालाई प्रभावकारी बनाउन लागि पर्ने बताए । उनले संघीयता र गणतन्त्रमाथि प्रहार हुने क्रम जारी रहेको आरोप लगाए ।
‘संघमा जे जति घटना घट्दै जान्छ, त्यसको प्रभाव प्रदेशमा पर्दोरहेछ । सरकारमै बसेर विरोध गर्न नैतिकताले पनि दिने कुरा भएन । गलत गतिविधिलाई समर्थन गर्न सकिने अवस्था पनि भएन, त्यसैले अहिले सरकारलाई सहयोग गर्न सकिएन,’ उनले भने ।
राजीनामा दिएपनि माओवादीले समर्थन फिर्ता भए/नभएको उल्लेख गरेको छैन । माओवादीले समर्थन फिर्ता लिएको खण्डमा पनि जनमोर्चाको समर्थन कायम रहेका कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भने सुरक्षित छन् ।
६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद छन् । बहुमतका लागि ३१ सांसद जरुरी पर्नेमा जनमोर्चाका ३ सांसदले समर्थन कायम राख्दा सरकार ढल्ने अवस्था छैन ।
२०७४ सालमा माओवादी केन्द्रको समर्थनमा गुरुङ मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद छन् ।